काठमाडौं । विदेशी रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लैजान अब सिधै वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न सक्ने संयन्त्र निर्माणको तयारी भएको छ । दूतावास नभएका देशबाट आउने श्रमिकको मागपत्र ताहाचलस्थित वैदेशिक रोजगार विभागबाटै दिने गृहकार्य सुरु भएको हो ।
मागपत्र प्रमाणीकरण निर्देशिकामा आवश्यक संशोधन गरेर दूतावास नभएका मुलुकबाट आउने मागपत्र विभागबाटै दिने तयारी श्रम मन्त्रालयले गरेको हो । युरोपेली मुलुक रोमानिया, क्रोएसिया, हंगेरी, माल्टालगायतका देशबाट श्रमिकको माग आइरहे पनि प्रमाणीकरण भएका छैनन् । नेपाली दूतावास नभएका देशबाट आउने श्रमिकको माग प्रमाणीकरण गर्न समस्या भएपछि सरकारले नयाँ प्रक्रियाबाट त्यसको समाधान गर्न खोजेको हो ।
यता वैदेशिक रोजगार व्यवसायी संघले अहिले पनि ४० हजारभन्दा बढी श्रमिकको माग प्रमाणीकरण हुन नसकेको जनाएको छ । मागपत्र प्रमाणीकरण सहज बनाउन सकिए भिजिट भिसाको सहारामा विदेश पुग्ने र गैरकानुनीरुपमा काम गर्नुपर्ने बाध्यता हट्ने बुझाइ मन्त्रालयको छ ।
व्यवसायीले पेस गर्ने मागपत्र सरकारी निकायले स्वीकृति गरेपछि मात्र श्रमिकको भर्ना प्रक्रिया सुरु हुने गरेको छ ।