तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिँदा अध्ययन र भ्रमणका नाममा बाहिरियो ५५ अर्ब

मंसिर ४, २०८१ |भरत रावल
तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिँदा अध्ययन र भ्रमणका नाममा बाहिरियो ५५ अर्ब

काठमाडौं । एक महिनामै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएपछि वैदेशिक मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्ब भन्दामाथि पुगेको छ । जुन हालसम्मकै उच्च हो । अर्थतन्त्र चलायमान नहुँदा आयातमा संकुचन र रेमिट्यान्समा उछाल देखिए पनि बैदेशिक अध्ययन र भ्रमणका लागि भने ५५ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको असोजसम्मको देशको आर्थिक तथा वित्तीय स्थिती अनुसार वैदेशिक मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्बमाथि पुगेको छ । जुन १४ दशमलव ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हो ।

अर्थतन्त्रमा संकुचन कायमै रहँदा गत बर्षको यही अवधिको तुलनामा आयातमा ४ दशमलव २ प्रतिशतको संकुचन आएको छ भने रेमिट्यान्स ११ दशमलव ५ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको ३ महिनामै ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिदा आयात भने ३ खर्ब ९० अर्बको मात्रै भएको छ ।

त्यस्तै अध्ययनको लागि विदेशीने क्रम नघटेका कारण चालू आर्थिक वर्षमा भ्रमणबापत ठूलो रकम विदेशिएको छ । गत बर्षको यही अवधिमा भ्रमणबापत ५१ अर्ब विदेशिएकोमा यस बर्ष ७ दशमलव ७ प्रतिशतले बढेर ५५ अर्ब रुपैयाँ विदेशिएको छ । तर पर्यटन आगमनमा अपेक्षित सुधार नहुँदा भ्रमणबापत ३ दशमलव ५ प्रतिशतले मात्रै बढेर १७ अर्ब ७२ करोड रुपैयाँ आय भएको छ ।

जुन गत बर्ष १७ अर्ब १३ करोड थियो । त्यस्तै चालु आर्थिक वर्षको असोजसम्मको अवधिमा सरकारको चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । जुन गत बर्षको सोही अवधिमा ५९ अर्ब ६५ करोडले बचतमा थियो । त्यस्तै यस अवधिमा नेपाल सरकारले ३ खर्ब २९ अर्ब खर्च गरेको छ गर्दा राजस्व भने २ खर्ब ४८ अर्ब मात्रै संकलन गरेको छ ।

सरकारको शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्बले बचतमा रहेको थियो । अर्थतन्त्र अपेक्षित चलायमान हुन नसकेपछि मुद्रास्फीति भने राष्ट्र बैंकले लिएको लक्ष्य भित्रै रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति ५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएकोमा तीन महिनासम्म ४ दशमलव ८२ प्रतिशत रहेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २ दशमलव ६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह भने २ दशमलव ५ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको यही अवधिमा २ दशमलव ३ प्रतिशत थियो ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement