रुसी भूमिमा युक्रेनद्वारा क्षेप्यास्त्र प्रहार

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसी भूमिमा युक्रेनद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौं । युक्रेनले अमेरिकाबाट आपूर्ति गरेको लामो दुरीमा आक्रमण गर्ने क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गरेको मस्कोले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई यस्तो आक्रमणका लागि अनुमति दिएको खबर बाहिरिएको भोलिपल्टै किएभले रुसमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । युक्रेनले मंगलबार बिहान रुसको सीमावर्ती ब्रियान्स्क क्षेत्रमा अमेरिकाद्वारा प्रदत्त ६ वटा "एटीएसीएमएस" क्षेप्यास्त्र प्रहार गरेको मस्कोस्थित रक्षामन्त्रालयले जनाएको छ ।

ती ६ वटा क्षेप्यास्त्रमध्ये ५ वटालाई आकाशमै प्रहार गरी ध्वस्त बनाएको र क्षतिग्रस्त भइ खसेको छैटौं क्षेप्यास्त्रको अवशेषका कारण त्यस क्षेत्रमा रहेको सैन्य केन्द्रमा आगो लागेको रक्षामन्त्रालयले जनाएको छ । उक्त आगोलाई तत्काल निभाइएको र त्यसबाट कुनै क्षति नभएको मन्त्रालयले दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त रुसी भू-भागभित्र पहिलो पटक लामो दुरीको क्षेप्यास्त्र प्रहार गरिएको हो । हिजोमात्रै रुसले यस्तो कुनै आक्रमणलाई युक्रेनी नभई अमेरिकी आक्रमणका रुपमा लिने र त्यसको उचित जवाफ दिने बताएको थियो ।

यसैबीच आजै राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोगसम्बन्धी सिद्धान्तमा गरिएको परिवर्तनलाई अनुमोदन गर्नुभएको छ । परिवर्तित व्यवस्था अनुसार कुनै गैर परमाणु देशले परमाणु शक्ति सम्पन्न देशको समर्थनमा रुसमाथि आक्रमण गरेमा त्यसलाई रुसविरुद्धको संयुक्त आक्रमणका रुपमा लिइने उल्लेख गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.