काठमाडौं । झापामा सुपारी अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । अर्जुनधारा नगरपालिका-५ मा रहेको १५ बिगाहा सरकारी जग्गा सुपारी अनुसन्धान केन्द्रको लागि उपयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो । सुपारी अनुसन्धान केन्द्र राखिने जग्गाको सभामुख देवराज घिमिरेले मंगलबार अवलोकन गर्नु भएको छ ।
विश्वमा पाइने २० प्रजातिका सुपारीमध्ये नेपालमा तीन प्रजातिको मात्र उत्पादन हुने गरेको छ । यो अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि सबै प्रजातिका सुपारीको नमुना उत्पादन गरेर यहाँको माटो र हावापानी सुहाउँदो प्रजाति किसानलाई लगाउन सिफारिस गरिने बताइएको छ ।
नेपालमा उत्पादन हुने १४ मेट्रिक टन मध्ये ११ मेट्रिक टन सुपारी झापामा मात्र उत्पादन हुने कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।