काठमाडौं । एक महिनामै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएपछि वैदेशिक मुद्राको सञ्चिती हालसम्मकै उच्च भएको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र वैदेशिक व्यापारमा आएको संकुचनले वैदेशिक मुद्राको सञ्चिती हालसम्मकै उच्च भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको असोजसम्मको देशको आर्थिक तथा वित्तीय स्थिती अनुसार रेमिट्यान्स आप्रवाह गत बर्षको सोही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढेर ३ महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
अहिले नेपाल राष्ट्र बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा २२ खर्ब ३२ अर्ब रुपैयाँ अर्थात् १६ अर्ब ६० करोड विदेशी थुप्रिएको छ । जसले १४ दशमलव ६ महिनाको वस्तु तथा सेवा र १७ दशमलव ६ महिनाको वस्तु आयातलाई पर्याप्त हो ।
त्यस्तै चालु आर्थिक वर्षको असोजसम्मको अवधिमा सरकारको चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । जुन गत बर्षको सोही अवधिमा ५९ अर्ब ६५ करोडले बचतमा थियो ।
त्यस्तै यस अवधिमा नेपाल सरकारले ३ खर्ब २९ अर्ब खर्च गरेको छ भने २ खर्ब ४८ अर्ब मात्रै राजस्व संकलन गरेको छ । शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्बले बचतमा रहेको थियो ।