काठमाडौं । हवाई भाडा नियन्त्रणका लागि सरकारसँग गरेको सहमति कार्यान्वयन गर्न सेवा प्रदायकहरुले आलटाल गरेका छन् । त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण कटौतीको बहानामा सञ्चालकहरुले चर्को हवाई भाडा असुल्दा यात्रु मारमा परेका छन् । यसले पर्यटन व्यवसायीसमेत प्रभावित हुने चिन्तामा व्यवसायी छन् ।
सामान्य अवस्थामा नेपालबाट दुबई, संयुक्त अरब इमिरेट्स तथा मलेसियाको भाडा एकतर्फी ३० हजारदेखि ४० हजारसम्म हो । तर मंगलबार यात्रुहरुले यी गन्तव्यमा टिकटका लागि ६५ हजारदेखि ७० हजारसम्म तिरे । जापान जाने हवाई भाडा झन् चर्को छ । विगतमा एकतर्फी भाडा ४५ हजार तिर्दै आएका यात्रुले मंगलबार १ लाख ५० हजारसम्म तिरे । चर्को हवाई भाडा र तालिका परिवर्तन हुँदा यात्रु आजित छन् ।
हवाई सेवा प्रदायक र ट्राभल एजेन्टहरुको मिलेमतोमा टिकटको मूल्य बढाइएपछि गत शनिबार नागरिक उड्डयन प्राधिकरणले स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरुसँग हवाई भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति गरेको थियो ।
सोही बैठकले वायुसेवा प्रदायक कम्पनीहरुले ट्राभल एजेन्सीलाई दिँदै आएको टिकट बिक्री गर्ने अधिकार-टीबीए खारेज गरेको थियो । तर पनि हवाई भाडा नघटेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । चर्को हवाई शुल्कका कारण श्रमिक पठाउनसमेत समस्या भइरहेको व्यवसायीहरुको भनाइ छ ।
नागरिक उड्डयन प्राधिकरण भने आपूर्तिभन्दा माग बढी भएका कारण हवाई भाडा सामान्य अवस्थामा आउन नसकेको तर्क गर्छ । कतार, फ्लाई दुबईजस्ता ठूला कम्पनीले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान सुरु गरिसकेको हुँदा अब स्वतः हवाई भाडा घट्ने दाबी प्राधिकरणको छ ।
सरकारका मन्त्रीदेखि जिम्मेवार अधिकारीहरुसम्मले भाडा नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् । सोहीअनुसार नियमन निकाय नागरिक उड्डयन प्राधिकरणले सहमति पनि गरेको हो । तर, त्यसको अनुभूति नागरिकले गर्न पाएका छैनन् ।
यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिक त मर्कामा परेका छन् नै, भर्खर लयमा आउँदै गरेको पर्यटन व्यवसायलाई पनि धक्का दिने काम भएको छ ।