अल्काराजले एटीपी फाइनल्समा आन्द्रे रुवलेभलाई सोझो सेटमा हराए

कार्तिक २९, २०८१ |खेल ब्युरो
अल्काराजले एटीपी फाइनल्समा आन्द्रे रुवलेभलाई सोझो सेटमा हराए

काठमाडौं । बिरामी भए पनि स्पेनिस कार्लोस अल्काराजले एटीपी फाइनल्समा आन्द्रे रुवलेभमाथि सोझो सेटको जित हात पारेका छन् ।

अल्काराजले छातीको समस्याका कारण गत मंगलबार आफ्नो अभ्यास छोट्याएका थिए । श्वास प्रश्वासमा केही समस्या आएपछि अल्काराजले खेलका दौरान नेजल टेप लगाएका थिए । 

इटालीको ट्युरिनमा उनले पहिलो सेट सहजै ६-३ ले जिते । त्यसका लागि विश्व नम्बर ३ अल्काराजले ३७ मिनेट मात्र समय खर्चिए । दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो । तर, २१ वर्षीय अल्काराजले ७-६ ले रुवलेभलाई हराए । 

आफ्नो पहिलो खेलमा नर्वेका कास्पर रुडसँग पराजित भएका अल्काराजलाई यो जितले राहत मिलेको छ । उनी पहिलो पटक एटीपी फाइनल्सको उपाधि जित्ने लक्ष्यमा छन् । 

अल्काराजले रुसका रुवलेभलाई लगातार चौथो खेलमा पराजित गरेका हुन् । रुवलेभले समूहको आफ्नो पहिलो खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेभसँग हार बेहोरेका थिए । 

सन् २०२२ का सेमिफाइनालिस्ट रुवलेभको एटीपी फाइनल्समा यो लगातार छैटौं सोझो सेटको हार हो । ९६ मिनेटमा जित हात पारेका अल्काराजले, आफ्नो खेलबाट आफैं अचम्मित भएको प्रतिक्रिया दिएका थिए । 

अर्को खेलमा ज्वेरेभले रुडलाई सोझो सेटमा पराजित गरे । पहिलो सेट उनले टाइब्रेकरमा जितेका थिए । उत्कृष्ट प्रदर्शन गरेका ज्वेरेभले दोस्रो सेट ६-३ आफ्नो पक्षमा पारे । अब समूहको अन्तिम खेलमा अल्काराजलाई पराजित गरे ज्वेरेभले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।