अमेरिकाका वर्तमान र भावि राष्ट्रपति बाइडन र ट्रम्पबीच भेटवार्ता, सत्ता हस्तान्तरणबारे छलफल

कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाका वर्तमान र भावि राष्ट्रपति बाइडन र ट्रम्पबीच भेटवार्ता, सत्ता हस्तान्तरणबारे छलफल

काठमाडौं । अमेरिकाका भावी राष्ट्रपति डनल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी ट्रम्प र बाइडनबीच सत्ता हस्तान्तरणका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपतिलाई सत्ता छाड्न लागेका राष्ट्रपतिले ह्वाइट हाउसमा स्वागत गर्ने परम्परालाई निरन्तरता दिँदै बाइडनले ट्रम्पलाई ह्वाइट हाउसमा भेटका लागि निम्त्याउनु भएको हो । 

यद्यपि, २०२० मा राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि तत्कालीन राष्ट्रपति ट्रम्पले बाइडनलाई यस्तै निम्तो नदिएर वर्षौंदेखिको परम्परा तोड्नु भएको थियो । ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटमा दुवै नेताबीच सौहार्दपूर्ण वातावरणमा वार्ता भएको जनाइएको छ । 

बाइडनले ट्रम्पलाई 'वेलकम ब्याक' भन्दै स्वागत गर्नुभएको थियो भने सहज सत्ता हस्तान्तरणका साथै उहाँको सुविधाका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

प्रत्युत्तरमा ट्रम्पले सत्ता हस्तान्तरण सहज रुपमा हुने विश्वास व्यक्त गर्नुका साथै बाइडनलाई धन्यवाद दिनुभएको थियो । दुई नेताबीचको वार्तालाप यसअघि दुवैले गर्दै आएको एक अर्काको कटु आलोचनाको ठीक विपरीत रहेको रोयटर्सले टिप्पणी गरेको छ । 

८१ वर्षीय बाइडनले यसअघि ७८ वर्षीय ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भन्दै आउनु भएको थियो भने ट्रम्पले बाइडनलाई असक्षमका रुपमा चित्रित गर्दै आउनु भएको थियो । 

२०२० को राष्ट्रपतीय निर्वाचनमा बाइडनसँग पराजित भएपछि ट्रम्पले निर्वाचनमा व्यापक धाँधली भएको झुठा दावी गर्दै आउनु भएको थियो ।

यसैबीच, अमेरिकी संसदको माथिल्लो सदन सिनेटपछि अब तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पनि रिपब्लिकनले बहुमत सिट जित्ने निश्चित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले प्रक्षेपण गरेका छन् । 

नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचनका साथै तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदनका एक सय मध्ये ३४ सीटका लागि पनि मतदान भएको थियो । दुवै सदनमा रिपब्लिकनको पकड हुनुको अर्थ नवनिर्वाचित राष्ट्रपति ट्रम्प थप शक्तिशाली हुनु हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.