एनपीएल : शिखर धवनलाई कर्णाली याक्सले टिममा भित्र्यायो

कार्तिक २९, २०८१ |खेल ब्युरो
एनपीएल : शिखर धवनलाई कर्णाली याक्सले टिममा भित्र्यायो

काठमाडौं । भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । कर्णालीले समाजिक सञ्जाल मार्फत गब्बर उपनामले परिचित धवनलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।

धवनले भारतबाट  टेस्ट, टी-ट्वान्टीआई र ओडीआई गरी तीनै फरम्यार्टमा प्रतिनिधित्व गरिसकेका छन् । धवनले एनपीएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । 

कर्णालीले भारतमै गएर धवनसँग सम्झौता गरेको हो । ३८ वर्षीय धवनले ६८ टी-ट्वान्टीआईमा १ हजार ७ सय ६९ रन बनाएका छन् । ३४ टेस्ट खेलेका उनको नाममा २ हजार ३ सय १५ रन छ । 

१ सय ६७ ओडीआईमा धवनले ६ हजार ७ सय ९३ रन बनाएका छन् । उनले आइपीएलमा दिल्ली क्यापिटल्स, पञ्जाब किङ्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबाट खेलिसकेका छन् । धवनले सन् २०१६ मा हैदराबादबाट आईपीएल जितेका थिए । धवनलाई कति रकममा टिममा भित्र्याइएको हो त्यो भने खुलाइएको छैन ।