काठमाडौं । नेपाल फिफा विन्डो अन्तर्गतको आफ्नो पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग पराजित भएको छ । डुसान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ४-शून्यले पराजित भएको हो ।
नेपालले खेलको २० मिनेटमै पहिलो गोलको सामना गर्यो । मनुचेखर सफरोभको क्रस नेपालका दुई डिफेन्डरले क्लियर गर्न नसकेपछि शेरभोनी मबाता-शोएभले आकर्षक गोल गरेका हुन् । पहिलो गोल ब्यहोरेसँगै नेपाल दबाबमा परेको थियो ।
खेलको २७औं मिनेटमा शनिष श्रेष्ठले मबाता-शोएभलाई बक्सभित्र फाउल गरेपछि रेफ्रीले घरेलु टोलीलाई पेनाल्टी दिएको थियो । पेनाल्टीमा एलिसर जालिलोभको प्रहार गोलकिपर किरण चेम्जोङले बचाए पनि रिबाउन्ड बलमा जालिलोभले नै गोल गरे ।
नेपाल पहिलो हाफमै ३ गोलले पछि पर्यो । ४३औं मिनेटमा पासान्बेको पासमा मबाता-शोएभले गोल गरे । पहिलो हाफकै अन्तिम समयमा नेपाली गोलकिपर किरणले बल नियन्त्रण लिने क्रममा धकेलाधकेल भएपछि खेल केही समय अस्तव्यस्त बनेको थियो ।
यसक्रममा नेपाली डिफेन्डर रोहित चन्द र ताजकिस्तानमा सफरोभले पहेँलो कार्ड पाए । नेपालले दोस्रो हाफमा थप एक गोल ब्यहोर्यो । ५०औं मिनेटमा जालिलोभले लङ सटमा २५ यार्डबाट गोल गरे । खेलमा उनको यो व्यक्तिगत दोस्रो गोल रह्यो।
खेलभरि दबाबमा रहेको नेपालले भने गोलका खास अवसर सिर्जना गर्न सकेन । यससँगै, नेपाल ताजकिस्तानसँगको खेलमा लगातार चौथो पटक पराजित भएको छ । करिब दुई साताको तयारी गरेर नेपाल ताजकिस्तान पुगेको थियो । नवीन न्यौपानेको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा यो पहिलो खेल हो । थ्रि नेसन्स कपको दोस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानको सामना गर्नेछ ।