काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगीले बक्यौता तिर्ने भन्दा पनि यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाउनुभएको छ । निर्देशक घिसिङले आज पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाउनुभएको हो ।
महसुल नतिर्ने उद्योगले १५ दिन भित्र पैसा नतिरे फेरि कानुन अनुसार महसुल उठाउने प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, 'महसुल उठाउने अन्तिम चरणमा पुग्दै गर्दा सरकारले बिजुली जोड्ने निर्णय गर्यो ।१५ दिनभित्र पैसा नतिरे फेरि कानुन अनुसार महसुल उठाउने प्रक्रिया अघि बढाउछौं ।'
लाइन जोड्ने निर्णय मन्त्रिपरिषद्बाट भएसँगै बक्यौता उठाउने जिम्मा पनि अब मन्त्रिपरिषद्, ऊर्जा मन्त्रालय र प्राधिकरणको हुने भएको उहाँले बताउनुभयो ।
उद्योगीको बिल उठाउन नसकेपछि अन्यले पनि तिर्न छाडेको उहाँको भनाइ छ । 'उद्योगीको बिल उठाउन नसकेपछि अन्यले पनि तिर्न छाडे,' उहाँले भन्नुभयो, '९९ प्रतिशत हरारहरीमा महसुल उठ्ने गरेकोमा अहिले ८५ प्रतिशत मात्र महसुल उठ्न थालेको छ । महसुल उठाउन नसक्ने हो भने विद्युत प्राधिकरण धरासायी हुन सक्छ ।'
यो बिल टीओडी मिटरका आधारमा गरिएकाले महसुल नतिर्ने उद्योगलाई १५ दिन भित्र बक्यौता तिर्न पनि उहाँले आग्रह गर्नुभयो ।