काठमाडौं । हरेक चाडपर्वले अर्थतन्त्रलाई चलयमान बनाउँछ । त्यसमा पनि दशैं-तिहारजस्ता ठूला चाडपर्वले त अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्ने गरेका छन् । अहिले तिहार सुरु भएसँगै बजारमा तिहारका सामग्री खरिद गर्नेहरुको भीड लागेको छ । तर, तिहारको किनमेलका लागि भारतीय सीमावर्ती बजारको पहुँचमा रहेका बासिन्दा नेपाली सहर-बजारभन्दा नजिकैको भारतीय बजार नै रोज्ने गर्छन् ।
तिहारलाई चाहिने सामग्रीको जोहो गर्न विराटनग क्षेत्रका उपभोक्ताको सीमावर्ती भारतीय बजार जोगवनीमा भीड लाग्न थालेको छ । सरसामान किन्न जाने नेपाली उपभोक्ताका कारण जोगबनी गुल्जार छ । तर, कोशी प्रदेशका नेपाली बजारमा भने खासै चहलपहल देखिँदैन ।
नेपाली बजारमा भन्दा सीमावर्ती जोगबनी बजारमा चिनी, दाहाल, तेल, लत्ताकपडासँगै भाइमसला र प्लाष्टिकका फूलहरुसमेत सस्तोमा पाइने भएकाले कोशी प्रदेशका विभिन्न जिल्लाका उपभोक्ता जोगबनीमा सामान किन्न आउने गरेका छन् ।
नेपाली उपभोक्ताका कारण उता जोगबनी बजारमा भीड छ तर यता विराटनगर, इटहरी, विर्तामोड लगायतका ठूला सहरमा समेत खासै चहलपहल देखिँदैन । अन्य समयमा बिक्री नहुँदा पनि दशैँतिहारमा त पक्कै व्यापार बढ्ला भनेर बसेका व्यापारी पछिल्ला दुई वर्षहरुमा भन्दा यसपालि व्यापार, व्यवसाय कम भएको बताउँछन् ।
खुला सीमाको फाइदा उठाउँदै नेपाली उपभोक्ता यताको भन्दा सस्तो मूल्यमा सीमावर्ती बजारमा समान किन्न जानुलाई व्यवसायीहरु पनि अस्वभाविक ठान्दैनन् ।
ठूला चाडपर्वमा नेपाली बजारलाई व्यवस्थित बनाउनुका साथै सरकारले वडा तथा पालिकादेखि नै सुपथ मूल्यका पसल सञ्चालन र अनुगमन गर्न सके सीमावर्ती बजारमा लाग्ने भीड नेपाली बजारमै रोकिन सक्थ्यो कि ?