देशभित्रै रोजगारीका अवसर नहुँदा तिहारका बेला पनि दैनिक सयौं युवा विदेशिँदै

तीन महिनामै १ लाख ७० हजारले लिए श्रम स्वीकृति
कार्तिक १४, २०८१ |सुमन पन्थ
देशभित्रै रोजगारीका अवसर नहुँदा तिहारका बेला पनि दैनिक सयौं युवा विदेशिँदै

काठमाडौं । पछिल्ला वर्षमाहरुमा भइरहेको न्यून आर्थिक वृद्धिदरका कारण आन्तरिक रोजगारीमा संकुचन आएको छ । बैंकिङ क्षेत्रमा पैसा थन्किने तर नयाँ परियोजना सञ्चालन गर्न व्यवसायी हिचकिचाउने गरेका कारण कर्जा विस्तार हुन सकेको छैन । यसले रोजगारीका अवसर सिर्जनामा बाधा पुगेको छ । आन्तरिक रोजगारी संकुचित हुँदा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

तिहारका बेला पनि युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौं युवा रोजगारी खोज्दै विदेशिइरहेका छन् । देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा बाहिरिनुपर्ने बाध्यता युवामा छ ।

शिक्षित र सिपयुक्त जनशक्ति अमेरिका र अस्ट्रेलिया जस्ता देशमा रोजगारी खोज्दै पुग्ने गरेका छन् । अर्को समूह खाडीका देशमा गइरहेको छ । गत वर्षको तुलनामा रोजगारी खोज्दै विदेशीने क्रम बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा १ लाख ७० हजार ५ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । यो गत वर्षको तुलनामा ५ दशमलव ९२ प्रतिशतले बढी हो । कतार, मलेसिया, साउदी अरब, कुवेतमा मात्र नभएर पछिल्ला वर्षमा साइप्रस, क्रोएसिया, माल्टा जस्ता देशमा जानेको संख्या पनि उल्लेख्य बढेको छ ।

वैदेशिक रोजगारीमा मात्र होइन, उच्च शिक्षा अध्ययनका लागि पनि धेरै नेपाली विद्यार्थी बाहिरिइरहेका छन् । साउन र भदौमा मात्रै उच्च शिक्षा अध्ययन गर्न जानेहरुबाट २८ अर्ब रुपैयाँ बाहिरियो । विदेशमा अध्ययन गरे उतै रोजगारी पाइने अपेक्षामा विद्यार्थीहरु बाहिरिने गरेका हुन् । जुनसुकै हालतमा पनि विदेश पुग्ने युवाको भनाइले नेपालमा बेरोजगारीको भयावह अवस्था रहेको देखिन्छ ।

हाम्रा पञ्चवषीर्य योजनाहरुले स्वदेशमै रोजगारीमा अवसर सिर्जना गर्ने नीति लिए पनि त्यो हुन सकेको छैन । राजनीतिक अस्थिरता र नेतृत्वमा दीर्घकालीन योजनाको अभावले देशभित्र रोजगारीका अवसर सिर्जना नहुँदा नेपाली युवाले कहिलेसम्म रोजगारी खोज्दै विदेश नै धाउनुपर्ने हो भन्न सकिने अवस्था छैन । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement