
कञ्चनपुर । श्रमिक अभाव र बढ्दो उत्पादन लागतले किसानलाई चुनौती थपिरहेका बेला कञ्चनपुरको बेलौरीमा कृषि यान्त्रिकीकरणले नयाँ आशा जगाएको छ।
स्थानीय र सङ्घीय सरकारको एक करोड रुपैयाँभन्दा बढीको लागतमा किसानलाई आधुनिक कृषि उपकरण वितरण गर्नुका साथै चक्लाबन्दीमार्फत गुणस्तरीय धानको बीउ उत्पादन अभियान अघि बढाइएको छ।
हिलोमा उभिएर हातैले धान रोपिरहेका यी किसानहरूका लागि खेती अहिले पनि सहज छैन। मजदुर नपाउने, पाइहाले पनि चर्को ज्याला तिर्नुपर्ने समस्याबीच अब उनीहरूको हातमा आधुनिक कृषि उपकरण पुगेका छन् । अबको खेतीलाई सहज, कम खर्चिलो र उत्पादनमुखी बनाउने उद्देश्यसहित बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा ८४ लाख रुपैयाँका एक सय ७६ थान आधुनिक कृषि उपकरण किसान, कृषक समूह र कृषि फर्मलाई हस्तान्तरण गरेको छ ।
वितरीत पावर ट्रिलर, मिनी ट्रिलर, मोटर, पम्पसेट, रोटाभेटर, रिपर, लेजर ल्यान्ड लेभलर, पावर स्प्रेयरलगायतका उपकरणले खेतीमा लाग्ने समय, श्रम र लागत घटाउने छ। खेत तयारीदेखि सिँचाइ र बाली व्यवस्थापनसम्म उपयोगी आधुनिक उपकरण हातमा पुगेपछि किसानहरू अब श्रमिक अभावको चिन्ता केही कम हुने विश्वासमा छन्।
खेती अब परम्परागत श्रममा मात्र निर्भर रहने अवस्था विस्तारै बदलिँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरले पनि बेलौरी नगरपालिका-२ टेडुवामा सञ्चालन गरेको धानको चक्लाबन्दी विकास कार्यक्रमअन्तर्गत करिब १७ लाख रुपैयाँ बराबरका कृषि यन्त्र, सिँचाइ सामग्री तथा उत्पादन सामग्री हस्तान्तरण गरेको छ ।
१५ हेक्टरमा धानको गुणस्तरीय बीउ उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । धानको चक्लाबन्दी विकास कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिरहेको सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई आधुनिक उपकरणसँगै गुणस्तरीय बीउ उत्पादन, प्राविधिक परामर्श र बजार व्यवस्थापनमा सहकार्य गर्दै आएको छ।
उत्पादनदेखि बजारीकरणसम्मको सहकार्यले व्यावसायिक बीउ उत्पादनतर्फ किसानको आकर्षण बढ्ने अपेक्षा गरिएको छ। धानको चक्लाबन्दी कार्यक्रममा सहभागी किसानहरू सामूहिक खेती र आधुनिक उपकरणको प्रयोगले उत्पादन बढ्नेमा आशावादी छन् ।
महिला र युवा किसानलाई कृषि पेसाप्रति आकर्षित गर्न पनि यान्त्रिकीकरणले सहयोग गर्ने अपेक्षा गरिएको छ। अब यी उपकरण खेतमा कति प्रभावकारी बन्छन् भन्ने कुराले मात्र होइन, किसानको आम्दानीमा आउने परिवर्तनले पनि यसको सफलता मापन गर्नेछ।