तीन महिनामै झन्डै डेढ अर्बको काजु-बदाम-पेस्ता !

कार्तिक ११, २०८१ |भरत रावल
तीन महिनामै झन्डै डेढ अर्बको काजु-बदाम-पेस्ता !

काठमाडौं । तिहार नजिकिएसँगै अहिले बजारमा काजु, किसमिस, बदाम, पेस्ताजस्ता ड्राइफ्रुट खरिद गर्नेको भीड छ । केही वर्षअघिसम्म चाडपर्वको समयमा मात्रै प्रयोग हुने यी वस्तु आजकाल अन्य समयमा समेत प्रयोग हुन थालेका छन् । जसका कारण पछिल्लो समय यसको आयातसमेत बढ्दो छ ।

२०४० सालतिर व्यापारिक घरानाले दरबारदेखि ठूला नेतासम्मलाई कोशेलीका रुपमा पठाउने काजु, बदाम, पेस्ता, ओखरजस्ता ड्राइफ्रुट अहिले आमउपभोक्ताबीच पनि लोकप्रिय छ । नेपालमा यस्ता वस्तुको उत्पादन हुँदैन । तर, आयात गरेरै भए पनि बाह्रै महिना यसको प्रयोग गर्नेको संख्या बढ्दै गएपछि आयात पनि हरेक वर्ष बढ्दो छ । 

गत आर्थिक वर्षको पहिलो ३ महिनामा काजु, बदाम, पेस्ता, नरिवल, ओखरजस्ता ड्राइफ्रुट १ अर्ब २२ करोड रुपैयाँको आयात भएको थियो । यस वर्ष समग्र वैदेशिक व्यापार घटे पनि यस्ता वस्तुको आयात भने १० करोडले बढेर १ अर्ब ३२ करोड पुगेको छ ।

पछिल्लो एक/डेढ दशकयता काजु, बदाम, किसमिस, पेस्ता, नरिवलजस्ता ड्राइफ्रुटलाई तिहारमा दिदीबहिनीले भाइमसलाका रुपमा प्रयोग गर्न थालेपछि त यसको आयातमा उल्लेख्य बृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ९१ करोडको आयात भएको ड्राइफ्रुट त्यसपछिका हरेक वर्ष ६ देखि ७ अर्बको आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म भारत, भियतनाम, यूएई, कुवेत, नाइजेरिया, पश्चिम अफ्रिकी देश वेनिनलगायतबाट २६ करोडको काजू आयात भएको छ । त्यस्तै, भारत, अमेरिका, मलेसियाबाट १८ करोडको बदाम, भारतबाट ३२ करोडको नरिवल, भारत र चीनबाट २१ करोडको ओखर तथा इन्डोनेसियाबाट २१ करोडको सुपारी आयात भएको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।