लाइन काटिएपछि डेडिकेटेड र ट्रंकलाइन वापतको महसुल नतिर्ने उद्योगीले तिर्न थाले बक्यौता

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लाइन काटिएपछि डेडिकेटेड र ट्रंकलाइन वापतको महसुल नतिर्ने उद्योगीले तिर्न थाले बक्यौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनवापतको महसुल नतिर्ने उद्योगको लाइन काट्न थालेपछि केही उद्योगले किस्तामा तिर्न थालेका छन् ।

तीन महिनाभित्र बक्यौता तिर्ने सर्तका साथ जोडेकोमा तिर्न चासो नदेखाएका ३४ उद्योगको लाइन विद्युत प्राधिकरणले काटेको हो । दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिल लगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ । तीमध्ये बुटवलको जिबी टेक्सटाइलले पहिलो किस्तावापत ३५ लाख ३७ हजार बुझाएपछि प्राधिकरणले लाइन जोडिदिएको छ । बक्यौता तिर्न बाँकी रहेका ४९ मध्ये ७ उद्योगले किस्तामा रकम तिर्न मञ्जुर भएर केही रकम तिरिसकेको प्राधिकरणले जनाएको छ ।

बिहीबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन नकाट्न निर्देशन दिनु भएको थियो । तर घिसिङले लिखित निर्देशन कै माग गर्नुभयो ।

मन्त्री खड्काले लिखित पत्र दिन नमानेपछि र व्यवसायीले पनि रकम तिर्न अटेरी गरेपछि प्राधिकरणले सााझ लाइन काटेको हो । उद्योग वाणिज्य महासंघले भने लाइन काटिँदा उत्पादन प्रभावित हुने र लगानीको वातावरणमा पनि प्रतिकूल असर पर्ने भन्दै डेडिकेटेड तथा ट्रंकलाइन विवाद वार्ताद्वारा समाधान खोज्न आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.