सडक बिग्रिएपछि ढुवानी भाडा महँगिएको बहानामा रामेछापमा चर्को मूल्य वृद्धि, छैन बजार अनुगमन

आश्विन २१, २०८१ |नवराज श्रेष्ठ
सडक बिग्रिएपछि ढुवानी भाडा महँगिएको बहानामा रामेछापमा चर्को मूल्य वृद्धि, छैन बजार अनुगमन

रामेछाप । बाढीले राजमार्ग र पुल बगाएपछि सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता त छँदै छ । त्यसमाथि दशैंको मुखमा दैनिक उपभोग्य सामानको भाउसमेत आकासिएपछि रामेछापका बासिन्दा मारमा परेका छन् । व्यवसायीले ढुवानी भाडा महँगिएको भन्दै बजार छोइनसक्नु बनाएका छन् । अर्कोतर्फ कतिपय उपभोग्य वस्तुमा कृत्रिम अभाव देखाएर कालोबजारी गरिएको छ । 

रामेछापको मन्थली बजारमा असोज १२ सम्म सुपथ मूल्यमा सामान पाइने गरेकोमा भोलिपल्टदेखि भाउ छोइनसक्नुभयो । बाढीले बीपी राजमार्ग र मोटरेवल पुलमा क्षति पुर्‍याएपछि तराईबाट केही दिन ढुवानी हुन सकेन । तराई जोडने वैकल्पिक सडक सञ्चालनमा आए पनि बजार भाउ भने दशैंको मुखमा अचाक्ली बढेको छ । जसको प्रत्यक्ष मारमा अति विपन्न समुदाय परेका छन् । व्यवसायीले भने बजार उपभोग्य वस्तुको मूल्य विगतकै अनुसार रहेको दाबी गरेका छन् । 

दशैंको मुखमा बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनाएपछि महँगो गाडी भाडा तिरेर सकस पूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यस्तो बेला ढुवानी मूल्य बढेको बहानामा व्यवसायीले उपभोग्य वस्तुको भाउ बढाएका छन् । व्यवसायीले रामेछापको मन्थली, रामेछाप बजार लगायतमा मनलाग्दी बजार भाउमा उपभोग्य वस्तुको मूल्य निर्धारण गरेका छन् । तर, बजार अनुगमन र कालो बजारी नियन्त्रणमा स्थानीय प्रशासनले चासो दिएको छैन । जसको प्रत्यक्ष असर बिहान बेलुकी हात मुख जोड्न धौधौ पर्नेलाई परेको छ । 

बाढीले घरबारै गुमेका कारण मारमा परिरहेका नागरिक दशैंका बेला महँगीको दोहोरो मारमा परेका छन् । यस्तोमा बजारमा स्थानीय प्रशासनले हस्तक्षेप गरेर कालोबजारी गर्नेहरूलाई कारबाही नगर्ने हो भने रामेछापका बासिन्दाको चाडबाड निकै महँगो पर्ने देखिन्छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement