काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे मागसहित महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
महासंघले माघ १६ गते निर्माण व्यवसायीका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन गरेको जनाएको छ । यसअघि महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु र राजनीतिक दलका नेताहरुलाई भेटी ज्ञापनपत्र बुझाएको थियो । यसैगरी, प्रदेश निर्माण व्यवसायी महासंघले मुख्यमन्त्रीहरुलाई र जिल्ला निर्माण व्यवसायी संघहरुले प्रमुख जिल्ला अधिकारीहरुलाई आफ्ना मागसहितका ज्ञापनपत्र बुझाएका थिए ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले कार्यदल गठनका लागि निर्देशन दिएको र छलफल सकारात्मक भएको भन्दै पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको हो ।
महासंघले आफ्ना माग पूरा नभए माघ १८ गते माइतीघर मण्डलामा र माघ २० मा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने जनाएको थियो । यस्तै, माघ २१ गतेबाट राजधानी प्रवेश गर्ने पूर्वी र पश्चिमी नाकाहरू ठप्प पार्ने चेतावनी पनि दिएको थियो ।
महासंघले निर्माण कार्य हुने सिजनमै सिमेन्ट उद्यमीहरूबाट खुलेआम ‘कार्टेलिङ’ गरी सिमेन्टका साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता लगायतका मुद्दा उठाई आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।