कर उठाउन आन्तरिक राजस्व कार्यालय धरानको विशेष अभियान

माघ १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर उठाउन आन्तरिक राजस्व कार्यालय धरानको विशेष अभियान

सुनसरी । विगतमा दर्ता गरी आय विवरण नबुझाएका करदातासँग कर उठाउन आन्तरिक राजस्व कार्यालय धरानले विशेष अभियान सञ्चालन गरेको छ । कार्यालयका तर्फबाट दर्ता भएदेखि हालसम्मको आय विवरण नबुझाई ‘नन् फाइलर’ रहेका करदाताहरूको कर दायित्वको रकम, छुट सुविधाको रकम र तोकिएको अवधिमा आय विवरण र कर दाखिला नगरिएमा लाग्न सक्ने शुल्क, ब्याज सहितको रकम गणना गरी पत्राचार गरिएको छ ।

आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट सुविधा सम्बन्धमा धरान उपमहानगरपालिकाका २० वडा कार्यालयहरूको वडाध्यक्ष, वडा सचिव र राजस्व शाखाका कर्मचारीहरूलाई कार्यालयमा विशेष कार्यक्रम सञ्चालन गरी सम्बन्धित वडा कार्यालयहरूमा रहेका कर नबुझाउने करदाताहरूलाई समेत जानकारी गराउन अनुरोध गरिएको हो ।

यस अभियानलाई टोल विकास समितिका सदस्यहरू मार्फत सबै करदाताहरूलाई जानकारी र सूचना पुर्‍याउने अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख कर अधिकृत बुद्धिप्रसाद आचार्यले बताउनुभयो ।

आर्थिक ऐनले दिएको छुट सुविधा उपभोग गर्ने अवधि आगामी फागुन मसान्तसम्म रहेको छ । करदाताहरू सो सुविधाबाट जानकारीको अभावमा कोही पनि वञ्चित हुन नपरोस भन्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरिएको आचार्यले बताउनुभयो ।

पहिले पनि यस्ता किसिमका छुट सुविधाका लागि फोन, म्यासेज गर्दा बेवास्ता गर्दै आएपछि करदाताहरूलाई पत्रको बाहिरी भागमा नै पत्रको विषय, आयकर छुट दाबी गर्न आउने सूचना उल्लेख गरेर पत्राचार नै गर्नुपर्ने अवस्था सिर्जना भएको कार्यालयका प्रमुख आचार्यले बताउनुभयो । कार्यालयको यस कदमले धेरै वर्षयता ननफाइलर रहेका करदाताहरूलाई पत्रको माध्यमबाट विस्तृत र स्पष्ट बेहोरा सम्प्रेषण गर्दा यसको परिपालनामा उल्लेख्य सहभागिता बढ्ने, नन् फाइलर घट्ने र राजस्व संकलनमा सहयोग पुग्ने अपेक्षा आचार्यको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement