त्रिकोणात्मक शृंखला : नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्दै

माघ १८, २०८१ |खेल ब्युरो
त्रिकोणात्मक शृंखला : नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्दै

काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टि ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा आज नेदरल्यान्ड्स र थाइल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । त्रिवि क्रिकेट मैदानमा खेल सवा १२ बजे हुनेछ ।

पहिलो खेलमा घरेलु टोली नेपाललाई २० रनले पराजित गरेको नेदरल्यान्ड्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । १५८ रनको लक्ष्य पछ्याएको नेपाललाई १३७ रनमा रोकेपछि डच टोलीले पहिलो भेटमै नेपाललाई स्तब्ध पारेको थियो ।

थाइल्यान्डको भने जारी शृंखलाको यो पहिलो खेल हो । थाइल्यान्ड विजयी सुरूआत गर्ने योजनामा हुनेछ । थाइल्यान्ड यस शृंखलाको सबैभन्दा बलियो टोली समेत हो । आईसीसी महिला टी-२० आई वरीयतामा थाइल्यान्ड १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छ ।

दुई टोलीबीच खेलिएका अन्तिम ५ खेलमा थाइल्यान्डले ४ र नेदरल्यान्ड्सले १ खेल जितेको छ । नेदरल्यान्ड्सले पछिल्ला चार खेलमा थाइल्यान्डलाई हराउन सकेको छैन ।



Enter Kantipur TV HD
Advertisement