राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०-८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भयो ।

उहाँले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताउनु भयो । उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने उहाँको भनाइ थियो । उहाँले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताउनु भयो ।

संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement