वैदेशिक रोजगारीमा पाइलैपिच्छे युवा ठगिए पनि श्रम मन्त्रालय रमिते

न्यून आर्थिक वृद्धिका कारण आन्तरिक रोजगारीमा समेत सङ्कुचन
भाद्र २९, २०८१ |सुमन पन्थ
वैदेशिक रोजगारीमा पाइलैपिच्छे युवा ठगिए पनि श्रम मन्त्रालय रमिते

काठमाडौं । पछिल्ला वर्षमा भइरहेको न्यून आर्थिक वृद्धिका कारण आन्तरिक रोजगारीमा सङ्कुचन आएको छ । सरकारले अहिले ११ प्रतिशत बेरोजगारी रहेको बताउने गरेको छ । तर निजी क्षेत्रको दाबी त्यो भन्दा धेरै छ । आन्तरिक रोजगारी सिर्जना गर्न नसकेको सरकारले वैदेशिक रोजगारी व्यवस्थित बनाउन सकेको छैन । पाइलैपिच्छे युवा ठगिए पनि श्रम मन्त्रालय रमिते जस्तै बनेको छ ।

काठमाडौंमा रहेको काठमाडौं ह्युमन ब्राइट फ्युचर नामको म्यानपावर कम्पनीको आवरणमा बिचौलिया गजेन्द्रबहादुर तामाङले २ सयभन्दा धेरै युवासँग जनही ३ देखि १५ लाखसम्म असुले । राम्रो रोजगारीका लागि विदेश पठाइदिने आश्वासनमा पैसा असुलेपछि तामाङ फरार छन् । पीडित युवा न्यायका लागि वैदेशिक रोजगार विभागमा भौँतारिइरहेका छन् ।

पीडित युवाले बिचौलियाकी श्रीमतीलाई पक्राउ गरेर सरकारी निकायमा बुझाए पनि कारबाही भएको छैन । विदेश पठाइदिने भन्दै ठग्ने मात्र होइन म्यानपावर कम्पनी र बिचौलियाले एउटा काम र कम्पनी भनेर विदेश पठाउने तर अर्कै काममा लगाइदिएर सास्ती दिने गरेका छन् ।

वैदेशिक रोजगार विभागमा व्यक्तिगत र संस्थागत गरी ९ हजारभन्दा बढी उजुरी परेका छन् । गएको असार र साउनमा मात्र ४ हजारभन्दा धेरै उजुरी थपिएका छन् । ठगी न्यूनीकरण गर्न विभागलाई हम्मे-हम्मे छ ।

वैदेशिक रोजगारीमा पुगेका श्रमिक पनि समस्यामा छन् । रोजगारीका लागि विदेश पुगेकाहरूमध्ये बर्सेनि १ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । अंगभंग हुनेहरूको सङ्ख्या पनि त्यही हाराहारीमा छ । यता श्रम आप्रवासनका विज्ञहरूले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समस्या पहिचान गरेर समाधान गर्न सुझाउँदै आएका छन् ।

पाइलैपिच्छे श्रमिक ठगिएको विषयमा श्रम मन्त्रालय बेखबर भने छैन । तर अहिलेसम्म उसले रणनीति बनाउन सकेको छैन । अवस्था कस्तोसम्म छ भने हालै संयुक्त अरबमा आममाफीका लागि सुविधा दिए पनि त्यसको सहजीकरण कसरी गर्ने भन्नेमा यूएईस्थित नेपाली दूतावास अन्योलमा छ । यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी भने आप्रवासनसम्बन्धी विज्ञ समूहले दिएका सुझावबाटै समाधान गरिने बताउनुहुन्छ ।

राष्ट्रिय अर्थतन्त्रमा वार्षिक १२ खर्बभन्दा धेरै योगदान आप्रवासन क्षेत्रको छ । ६० प्रतिशतभन्दा धेरै नेपालीको जीविकोपार्जनको माध्यम यही क्षेत्र बनेको छ । तर श्रमिक भर्ना प्रक्रियादेखि विदेशमा काम गरेर फर्किएका युवाको पुनर्स्थापनासम्मका कार्यक्रम ल्याउन सरकारले ढिलाइ गरिरहेको छ । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement