विराटनगरका तेल उद्योग बन्द हुने अवस्थामा, ४ हजारको र‍ोजगारी संकटमा

आश्विन १, २०८१ |महाप्रसाद खतिवडा
विराटनगरका तेल उद्योग बन्द हुने अवस्थामा, ४ हजारको र‍ोजगारी संकटमा

विराटनगर । पछिल्लो वर्ष प्रशोधित पाम तेल, सूर्यमुखी र भटमासको तेलको निकासी स्वाट्टै घटेको छ । भारतले कच्चा तेलको आयातमा लिँदै आएको भन्सार दर घटाएर साढे पाँच प्रतिशतमा झारेपछि नेपालबाट निकासी हुने प्रशोधित तेलको निकासी सरदर ९० प्रतिशतले घटेको छ । निकासी घटेपछि उद्योगहरूले ७५ प्रतिशतभन्दा बढीले उत्पादन कटौती गरेका छन् । जसका कारण तेल उद्योगमा काम गर्ने चार हजारभन्दा बढीको रोजगारी सङ्कटमा परेको छ ।

अघिल्लो आर्थिक वर्ष नौ अर्ब ४० करोड ३९ लाख ४६ हजार रूपैयाँको प्रशोधित पाम तेल निकासी भएकोमा गत आर्थिक वर्ष साढे नब्बे प्रतिशत घटेर ८९ करोड २४ लाख ९७ हजार रूपैयाँको मात्र निर्यात भयो । त्यस्तै, भटमासको प्रशोधित तेल आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब १० करोड आठ लाख ८० हजार रूपैयाँको निर्यात भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ७६ प्रतिशत घटेर ७४ करोड ५४ लाख रूपैयाँको मात्र निकासी भयो । 

अघिल्लो आर्थिक वर्ष सूर्यमुखीको प्रशोधित तेल नौ करोड ४५ लाख १८ हजार रूपैयाँको निकासी भएकोमा गत आर्थिक वर्ष आठ हजार रूपैयाँको मात्र निर्यात भयो । ठूलो मात्रामा निकासी घटेका कारण उद्योगले उत्पादन कटौती गर्नुका साथै जनशक्ती पनि कटौती गर्न थालेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा आठ वटा तेल उद्योग छन् भने देशभर २६ वटा उद्योग छन् । ४० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको यी उद्योगले चार हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । पाम, भटमास लगातयका कच्चा तेलको आयातमा पहिले भारतले सरदर ३५ प्रतिशत भन्सार लगाएको थियो ।

नेपालमा भने कच्चा तेलको आयातमा १० प्रतिशत मात्र भन्सार तिर्नु पर्थ्यो । अझ यो भन्सार दरमा सरकारले नौ प्रतिशत छुट दिएको थियो । भन्सार दरमा यति धेरै फरकको फाइदा उठाउँदै उद्योगीहरूले मलेसिया लगायतका देशबाट आयात गरेको कच्चा तेल प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । अहिले भारतले कच्चा तेलको भन्सार दर साढे पाँच प्रतिशतमा झारेपछि भारतको तेलसँग नेपाली तेलले प्रतिस्पर्धा गर्न नसकेर निर्यात स्वाट्टै घटेको हो ।

भारतले कच्चा तेलको आयातमा यो वर्ष भन्सार दर बढाएर साढे पाँच प्रतिशत बनाए पनि नेपालमा भन्सार दर १० प्रतिशत भएकाले भारतीय उत्पादन भन्दा नेपाली उत्पादन महङ्गो छ । खुला सीमा भएका कारण आन्तरिक खपतका लागि चोरी पैठारीबाट तेल आउने भएकाले तेल उद्योगले आन्तरिक बजार पनि गुमाएको अवस्था छ । जसका कारण तेल उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । 


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement