राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौंमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभई अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गर्नुभयो ।

उहाँले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको बताउनु भयो । उहाँले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसाबले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनै पनि कम्परमाइज हुने छैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’

उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement