मोरङ । पर्याप्त वर्षा नहुँदा कोशी प्रदेशमा धान रोपाइँ हालसम्म मुस्किलले १५ प्रतिशत कटेको छ ।
धान रोप्ने मुख्य सिजनमै समयमा सिँचाइ, मल र मजदुरको अभावले उत्पादन घट्ने चिन्ता छ । पर्याप्त वर्षा भइदिएको भए कोशी प्रदेशभर यतिबेलासम्ममा २५ प्रतिशत रोपाइँ भइसकेको हुने थियो ।
अन्नको भण्डार भनेर चिनिएको कोशी प्रदेशमा रोपाइँ सुरु भए पनि सिँचाइ, मल र मजदुरको अभावले गर्दा अहिलेसम्म १५.३३ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशको उच्चपहाडी क्षेत्रमा १०.९१ प्रतिशत, मध्यपहाडी क्षेत्रमा २७.१४ प्रतिशत, तराईमा ११.५४ प्रतिशत रोपाइँ सकिएको हो ।
गत वर्ष यही समयमा १४ प्रतिशतसम्म धान रोपाइँ भएको थियो । पर्याप्त वर्षा नहुँदा जसोतसो ब्याड राखेका किसानले अहिले धान रोप्ने बेलामा पनि सिँचाइ र मलको अभावसँगै जुध्न बाध्य छन् । रोपाइँका बेला पानी छाड्नुपर्ने नहर बल्ल ममर्तसम्भार भइरहँदा किसानलाई आकासेपानीको भर छ ।
त्यहीँ पनि भनेजति परिरहेको छैन । कोशी प्रदेशको प्रादेशिक कृषि सामग्री केन्द्रमा १० हजार २ सय ५९ दशमलव ६५० मेट्रिक टन युरिया, १४ सय १७ दशमलव ६०० मेट्रिक टन डीएपी मौज्दात छ । यस्तै ३ हजार २२ दशमलव ८ सय मेट्रिक टन पोटास मौज्दात रहेको छ ।
कोशी प्रदेशमा १ लाख ३८ हजार ३ सय ३५ मेट्रिक टन युरिया, ७७ हजार ३ सय १५ मेट्रिक टन डीएपी र ४८ हजार ८ सय ७२ मेट्रिक टन पोटासको आवश्यकता पर्छ । कोशी प्रदेश सरकारले हरेक आर्थिक वर्षको बजेटमा उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिएको छ । तर, धान रोप्ने समयमा सिँचाइ र मल नपाउँदा किसानहरू समस्यामा छन् भने लक्ष्यअनुसारको उत्पादन हुनेमा आशंका बढेको छ ।