
सल्यान । पछिल्लो समय रोजगारीको अभाव र राम्रो आम्दानीको खोजीमा धेरै युवा विदेशिने क्रम बढ्दो छ । तर, सल्यानका केही प्राविधिक शिक्षा अध्ययन गरेका युवाले भने गाउँमै सम्भावना खोज्दै नर्सरी व्यवसायबाट उल्लेखनीय सफलता हासिल गरेका छन् ।
सरकारी वा निजी जागिरको भर नपरी कृषि उद्यम रोजेका उनीहरूले वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आत्मनिर्भर बनेका छन् । सल्यानको बागचौर नगरपालिका ९, कोटमौलाका झलक डाँगी कुनै समय स्वास्थ्य क्षेत्रमा आबद्ध हुनुहुन्थ्यो ।
सीएमए अध्ययन गरेपछि करिब आठ वर्ष मेडिकल व्यवसाय सञ्चालन गरेका डाँगीले कृषि क्षेत्रमा सम्भावना देखेर नर्सरी व्यवसाय सुरु गर्नुभयो । तीन लाख लगानीबाट सुरु भएको नर्सरी व्यवसाय अहिले उहाँको मुख्य आम्दानीको स्रोत बनेको छ ।
सुन्तला, कागती, टिमुर, ओखरलगायतका बीउ तथा कलमी बिरुवा उत्पादन गर्दै आएका डाँगीले वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँका बिरुवा सल्यान मात्र नभइ विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् ।
कोटमौलाकै कृषि प्राविधिक अध्यययन गरेका सन्दीप डाँगीले पनि जागिरको खोजी गर्नुको सट्टा आफ्नै गाउँमा उद्यम गर्ने बाटो रोज्नुभयो । २०७६ सालदेखि नर्सरी व्यवसायमा सक्रिय उहाँले उत्पादन गरेका बिरुवा विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् ।
नर्सरी व्यवसायबाटै उहाँले वार्षिक करिब १५ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा लगनशीलता र मिहिनेत भए राम्रो भविष्य बनाउन सकिने अनुभव उहाँको छ । कोटमौलाका धेरैजसो युवा पढाइ पूरा भएपछि जागिरको खोजीमा भौंतारिनुभन्दा आफ्नै गाउँमा उद्यम सुरु गरेका छन् ।
सुरुमा सानो लगानीबाट सुरु गरिएको नर्सरी व्यवसाय अहिले हजारौं बिरुवाको उत्पादन केन्द्रको रूपमा विकसित हुँदै गएको छ । फलफूल, वनजन्य तथा सजावटी बिरुवाको उत्पादन गर्दै आएका उनीहरूले जिल्लाभित्र मात्र नभइ अन्य जिल्लामा समेत बजार विस्तार गरेका छन् । यसले गाउँमै आयआर्जनका नयाँ अवसर सिर्जना गरेको छ ।
उत्पादनको गुणस्तर, प्राविधिक ज्ञान र मेहनतका कारण उनीहरूको नर्सरीप्रति ग्राहकको विश्वास बढ्दै गएको छ । सरकारी निकायहरूले पनि प्राविधिक परामर्श, तालिम, टनेल निर्माण तथा नर्सरी सुधारका कार्यक्रममार्फत सहयोग गर्दै आएका छन् ।
व्यवसाय विस्तारसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत सिर्जना भएका छन् । यसले वैदेशिक रोजगारीतर्फ आकर्षित युवालाई गाउँमै सम्भावना खोज्न प्रेरित गरिरहेको छ । प्राविधिक शिक्षा हासिल गरेका यी युवाले गाउँमै सम्भावना खोज्दै नर्सरी व्यवसायलाई आम्दानीको भरपर्दो माध्यम बनाएका छन् ।
बढ्दो वैदेशिक पलायनका बीच उनीहरूको सफलताले सीप, मिहिनेत र उद्यमशीलता भए आफ्नै गाउँमा पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।