वीरगन्ज । आर्थिक र व्यापारिक केन्द्रको रुपमा परिचित वीरगन्ज बजार यतिबेला सुनसान छ । व्यापारीहरु पसल खोलेर ग्राहक पर्खेर बसेका छन् । तर बजारमा ग्राहक छैनन् । आयात व्यापारमाथि निर्भर नेपाली बजारमा सामानको मुल्य भारतकोभन्दा झन्डै २० देखि ४० प्रतिशतले महँगो पर्छ । भारतबाट आयात हुने बस्तुमा सरकारले लगाउने चर्को भन्सारका कारण सामानको मुल्य अत्यधिक महँगो हुँदा सीमा क्षेत्रका नेपाली उपभोक्ता नेपाली बजारमा टिक्दै टिक्दैनन् ।
वीरगन्जसँगै सिमा जोडिएको भारतको यो रक्सौल बजारमा भने उपभोक्तको निकै भिडभाड देखिन्छ । सीमापारीको बजारको देखिएको यो भिड अधिकााश नेपाली उपभोक्ताको हो । वीरगन्ज र आसपासका उपभोक्ता मात्रै होईन, काम विशेषले वीरगन्ज आउने जोकोही पनि रक्सौलको यो बजारमा पुगेर सामान किनमेल गर्न मन पराउँछन् । वीरगन्ज बजारभन्दा सीमापारीको रक्सौल बजारमा सामान निकै सस्तो पाउने भएर वीरगन्जको बजार खाली र रक्सौलमा भिडभाड बढेको हो ।
नेपाली बजार भारतसागको आयात व्यापारमाथि निर्भर बजार हो । यहाँ पाउने झन्डै ८० प्रतिशत सामानहरु भारतिय हुन्छन । नेपाली व्यवसायीले आयात गरेका अधिकांश मालबस्तुमा सरकारले १३ प्रतिशत भ्याट र २० देखि ३० प्रतिशतसम्म भन्सार महसुल उठाउने गरेको छ । त्यसमाथि ढुवानी भाडा र व्यवसायीको मुनाफा जोड्दा नेपाली बजारमा भारतीय सामानको मुल्य भारतको बजारभन्दा झन्डै ३० देखि ४० प्रतिशतले महँगो हुन जान्छ । सस्तो मूल्यमा सामान खरिद गर्ने उपभोक्ताको चाहना नै हो ।
त्यसमाथि दक्षिण तर्फको १७ सय किलोमिटर खुल्ला बोर्डरले उपभोक्तालाई चाहना पूरा गर्न सहयोग पुर्याइरहेको हुन्छ भने यसले अबैध व्यापारलाई पनि उत्तिकै बढावा दिएको छ । ४० प्रतिशतसम्मको कर तिरेर बैध बाटोबाट ल्याएको सामान बिक्री गर्न उत्तिकै गाह्रो छ । यस्तो अवस्थामा बजारमा टिक्न १० प्रतिशतको क्यारियर चार्ज तिरेर अबैध बाटोको प्रयोग गरेर सामान भित्र्याउने व्यापारीको साख्या दिनानुदिन बढदो छ ।
भारतका उद्योगहरुबाट उत्पादित मालबस्तु भारतीय बजारमा पुग्दा सरकारले श्रेणी अनुसार ४ प्रतिशतदेखि २८ प्रतिशतसम्म जीएसटी लगाउँछ । भारतमा उत्पादित सामान नेपालमा आयात गर्दा भने जीएसटी लाग्दैन । भारतमा लाग्ने जिएसटीको दरमा १० देखि १५ प्रतिशतसम्म भन्सार महसुल लगाउने हो भने त्यसले अबैध व्यापारलाई पूर्ण रुपमा निरुत्साहित गर्ने र नेपाली बजार चलायमान हुने व्यवसायीहरुको सुझाव सरकार भने मान्न तयार छैन ।