रेमिट्यान्सलाई पूँजीमा रूपान्तरण: सुकुटे रिभर फन बिच रिसोर्टको सफलता पछाडि सात युवाको संघर्ष

असार १८, २०८२ |कमला पाख्रिन
रेमिट्यान्सलाई पूँजीमा रूपान्तरण: सुकुटे रिभर फन बिच रिसोर्टको सफलता पछाडि सात युवाको संघर्ष

सिन्धुपाल्चोक । दैनिक १८ सयदेखि २ हजार जना नेपाली रोजगारीका लागि विदेशिन्छन् । त्यसरी गएका मध्ये थोरैले मात्रै विदेशमा आफूले सिकेको सीप र कमाइको सदुपयोग स्वदेश फर्किएर गर्छन् । 

वैदेशिक रोजगारीका क्रममा दुबईदेखि अमेरिकासम्म १४ देश बसेर फर्किएका सिन्धुपाल्चोकका ललित गिरीसहितका युवा हाल सुकुटेमा होटल व्यवसायमा जमेका छन् ।

१२ वर्ष लामो प्रवासी जीवनमा ललित गिरी १४ देश पुग्नुभयो । देशदेशावर डुलेर पसिना बगाइरहँदा त्यहाँ सिकेको सीप र कमाइ आफ्नै भूमिमा लगाएर केही गर्न पाए हुन्थ्यो भन्ने उहाँलाई लागिरहृयो । त्यसैले लालितले २०७१ सालमा स्वदेश फर्किएर भक्तपुरमा क्याफे खोल्नुभयो । जसमा विदेशमा कमाइ गरेको १७ लाख रूपैयाँ लगानी थियो ।

त्यसको चार वर्षपछि आफ्नै गाउँ सिन्धुपाल्चोकको सुकुटेमा पर्यटनको राम्रो सम्भावना देखेर उहाँले २३ रोपनी जग्गा भाडा लिनुभयो । अनि त्यहाँ खुल्यो उहाँको ड्रिम प्रोजेक्ट सुकुटे रिभर फन बिच रिसोर्ट । 

जसमा ललितजस्तै वैदेशिक रोजगारीबाट फर्किएका ६ जना युवाको चार करोडभन्दा बढी बीउ पुँजी लागेको छ । वार्षिक ३ लाख रूपैयाँ जग्गाभाडा दिने गरी सुरू भएको व्यवसाय अहिले करिब ९ करोड पुगिसकेको छ । सुरूको लगानी उठाएर भाडामा लिएको ८ रोपनी जग्गा रिसोर्टले आफ्नै नाममा किनिसक्यो ।

रिसोर्टले अहिले १८ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । १० देखि १५ वर्ष विदेशमा बिताएका यो रिसोर्टका लगानीकर्ताहरूलाई त्यहाँको श्रमले धेरै कुरा सिकायो । उनीहरूले विदेशमा बस्दा पैसा मात्रै कमाएनन् व्यवसायिक सीप पनि आर्जन गरे । यो सफलताको श्रेय उनीहरू त्यही अनुभव र लगनशीलतालाई दिन्छन् ।

त्यही रिसोर्टमा सामान्य श्रमिकको रूपमा काम थालेका काभ्रेपलाञ्चोक सापिङका रमेश गिरी अहिले सहलगानीकर्ता बन्नुभएको छ । पहिले रोजगारीको खोजीमा धेरै भौतारिएका रमेशले सुरुमा किचन सहयोगी र सफाइ कर्मचारीको रूपमा त्यहाँ काम गर्नुभयो । तर मिहिनेत र प्रतिबद्धताका कारण छोटो समयमै व्यवस्थापकको विश्वास जित्दै उहाँले लगानी गर्ने अवसर पाउनुभयो ।

लालितको समूहले वार्षिक खाका तयार पारेर रिसोर्ट सञ्चालन गर्दैआएको छ । लगानीकर्ता सातै जना रिसोर्टमै बसेर आ-आफ्नो जिम्मेवारीको काम गर्छन् । स्वदेश फर्केर रेमिट्यान्सलाई पूँजीमा बदल्नसक्ने उनीहरूको सफल व्यवसाय धेरै युवाको प्रेरणको स्रोत हो ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।