काठमाडौं । एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गरिरहेको नेपालले जितका लागि ९१ रनको झिनो लक्ष्य पाएको छ ।
मलेसियाको क्वालालाम्पुर त सेलेगंर ट्रफमा विपिन शर्मा नेतृत्वका नेपाली बलरले घरेलु टिमका ब्याटरलाई दबाबमा राखे । मलेसिया ४३ ओभर एक बलमा ९० रनमा अल आउट भएको हो । मलेसियाले २८ रनमा नै शीर्ष चार ब्याटर गुमाएको थियो । ओपनर अजीव वाज्दी शून्यमा रन आउट भए । त्यसपछि विकेट लिन सुरु गरेको नेपाल रोकिएन । मोहम्मद नुर एडम ७, कप्तान डियाज पेट्रो दश रनमा पभेलियन फर्किएका थिए ।
मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन जोडे । सुभम खनालले तीन र अभय यादवले चार विकेट हात पारे । विपिन शर्मा र सचिन भट्टले एक-एक विकेट बाँडे । नेपाल जारी प्रतियोगितामा अपराजित छ । उसले समूहका चारै खेलमा जीत हात पारेको थियो । साविक विजेता नेपालले मलेसियालाई नै हराएर उपाधि जितेको थियो । मलेसियाले समूह चरणमा तीनमा जीत र एकमा हार बेहोरेको थियो ।
दोस्रो सेमिफाइनलमा आजै हङकङ र सिंगापुर भिड्नेछन् ।