बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरसँग जोडिएको ११ किलोमिटर लामो गुरूवागाउँ शाखा नहर सञ्चालनमा नआउँदै भत्किएको छ।
सामान्य झरीले समेत नहरको दुईतिरकै माटो बगाइरहेको छ । यसले नहर चिराचिरा पर्नुका साथै ठूल्ठूला भ्वाङ परेका छन् । जसले गर्दा अहिले भएको लगानी खेर जाने र पुन: निर्माण गर्दा दोहोरो खर्च हुने निश्चित छ ।
बाँकेको बैजनाथ गाउँपालिका-६ का लक्ष्य नेपालीलाई सामान्य बर्खेझरीले सिक्टा सिँचाइ आयोजना अन्तर्गतको गुरुवागाँउ शाखा नहर भत्काउनसक्ला भन्ने लागेकै थिएन । तर नहर त कुलोभन्दा कमजोर पो देखियो । हेर्दा हेर्दै झरीले माटो बगाउँदै चिराचिरा पार्न थाल्यो । कतै ठूल्ठूला भ्वाङ परे । पानी सञ्चालन नहुँदै दुईपट्टीको माटो बगेर नहर पुरिँदैगएको छ ।
बैजनाथ गाउँपालिका-५ बाट सुरू भएको यो शाखा नहर ११ किलोमिटर लामो छ । ७ हजार ८१ हेक्टरमा सिँचाइ गर्ने लक्ष्यसहित नहर ३७ करोड ८२ लाख रूपैयाँमा बनेको हो । यति ठूलो लगानीको नहर भत्किँदै गएको देख्दा किसान अब कति दिन टिक्ला ? भन्ने प्रश्न गर्छन् ।
आयोजनाले डिजाइन गर्दा नै नहरको दुइतिर सिमेन्टको स्ल्याप राख्नुपर्नेमा सामान्य झरिले समेत बगाउनसक्ने माटो राखेकाले नहर भत्किँदै र पुरिँदैगएको छ । तर सिक्टा आयोजना र निर्माण कम्पनी भैरव-शुभानी जेभीले नहरमा रेनकटमात्र भएकाले भत्के पनि पछि मर्मत गर्दै जाने जनाएको छ ।
आयोजनाले घुलनशील माटो भएको हुनसक्ने अनुमान गरेर माटो परीक्षण पनि गराएको जनाएको छ । नहरको माटो बग्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले नहरको टेक्निकल अडिट गरेको छ । तर कस्तो प्रतिवेदन दियो ? भन्ने आयोजनाले जानकारी दिएको छैन् । यहीबीचमा यो नहरमा सिक्टा सिँचाइ आयोजनाले मूल नहरबाट सानो कुलोको झै पानी छाडेर परीक्षण पनि गरेको छ ।