काठमाडौं । तपाईँले मोबाइलमा कसैको घर-ठेगाना या स्थान खोज्ने प्रयास गर्नुभएको छ ? छ भने गुगल म्यापको सहारा लिने गर्नुभएको होला । तर, अब विदेशी एपमा भर पर्नुपर्ने अवस्था छैन । नेपालमै विकास गरिएको 'कता हो' नामक एपको मद्दतले सजिलै आफूले चाहेको ठेगाना पत्ता लगाउन सकिने भएको छ । ठेगाना पत्ता लगाउने मात्र होइन, यो एपले हराएको सामान भेट्न समेत सहयोग पुर्याउँछ ।
आजकाल अधिकांश मानिस मोबाइलमा गुगल म्यापको प्रयोग गर्ने गर्छन् । तैपनि कसैको ठेगाना या घर पत्ता लगाउन समस्या छ । त्यसमाथि स्थानीय तहहरूले पनि घर नम्बर फरक-फरक खालका राख्ने गरेका छन् । यही समस्यालाई सुल्झाउने गरी एउटा एप तयार भएको छ जसको नाम हो - कता हो । यो एपमार्फत बनाइएका घर नम्बर प्लेटका आधारमा आफन्तले तपाईँ हाम्रा घर सजिलै पत्ता लगाउन सक्छन् ।
गत माघदेखि सञ्चालनमा ल्याइएको यो एपमा तयार पारिएको घर नम्बरका आधारमा बिरामी पर्दा एम्बुलेन्स बोलाउन, आगलागी हुँदा दमकल बोलाउन सहज हुने दाबी एप निर्माताको छ । चार वटा स्थानीय तहले उनीहरूको नम्बर प्लेट प्रयोग गर्न सम्झौता पनि गरिसकेका छन् । घरको ठेगाना पत्ता लगाउन मात्रै हैन, मोबाइल, झोला, बाइकको साँचोजस्ता सामान हराउने धनीको ठेगाना वा सूचना पत्ता लगाउन सकिने ट्यागको पनि सुविधा यही एपमा छ ।
उद्यमीद्वय रामप्रसाद रिमाल र लक्ष्मण रिमालले 'कता हो' नामक ठेगाना पत्ता लगाउने एप विकास गरेका हुन् । प्रविधिमा आधारित यो व्यवसाय राम-लक्ष्मण दाजुभाइको यो पहिलो होइन । २०५६ सालमा ५ लाख रुपैयाँ आफन्तबाट ऋण लिएर उद्यम सुरु गरेका उनीहरूको व्यवसायको आकार अहिले १२ करोडको भएको छ । ५० भन्दा बढी त प्रविधिमा आधारित छन् ।
गत वर्ष मात्रै बिजुलीको तारमा बसेका चरा भगाउने र घरमा मुसा भगाउने मेसिन जापान पठाएर ६० लाख रुपैयाँ कमाएका उनीहरूले कोरोनाका समयमा उच्च ज्वरो आएका व्यक्ति पत्ता लगाउने थर्मोग्राफी क्यामेरा समेत जापान निर्यात गरी १ करोड रुपैयाँ आम्दानी गरेका थिए । हाल ४० जनालाई प्रत्यक्ष रोजगारी दिएका राम-लक्ष्मणले गुगल म्याप प्रयोगबापत बाहिरिने रकमसमेत कम गर्ने योजनामा छन् ।