काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताउनु भयो । 

असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी उहाँले दिनुभयो । स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेपनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली कांग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरूको मतभेदका कारण बजेट आउन सकेको थिएन । 

देशकै ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौं महानगरको आलोचना हुँदै आएको थियो ।

उहाँले भन्नुभयो,‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२/०८३ को बजेट ल्याउनुपर्ने थियो । त्यो बजेट ल्याउनको लागि आज कार्यपालिकाको बैठक बसेको हो । आजको बैठकबाट असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएका छौँ । काठमाडौं महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’

बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित