जनकपुर । देशका विभिन्न भागमा वर्षापछिको बाढी र पहिरोले जनजीवन प्रभावित भइरहँदा कम पानी परेपछि मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेश प्रदेश सरकार मन्त्रिपरिषद् बिहीबार साँझ बसेको बैठकले सयममै वर्षा नभएको भन्दै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गर्ने निर्णय गरेको हो ।
यसका साथै, पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।