बुटवल । गृहिणीलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले गृहिणी स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा २० वर्ष पूरा भई ६० वर्ष ननाघेका महिलालालाई सीप सिकेर उद्यमी एवं स्वरोजगार बन्न आवश्यक ज्ञान सिकाइन्छ । सीप सिकेका गृहिणीलाई रोजगारमा जोड्ने वा बीउ पुँजी दिएर आफैले उद्यम गर्न लगाउने बुटवल उपमहानगरको योजना छ ।
बुटवल नगरपालिका-१७ का यी महिलाहरू जुत्ताचप्पल बनाउन सिकिरहेका छन् । कागज, छाला र प्लाष्टिकलाई चित्रको आकारमा काट्दै र मसिनमा सिलाउँदै उनीहरू जुत्ताचप्पल बनाउने सीप सिकिरहेका छन् ।
यसअघि घरको चुलोचौकोमा मात्र सिमित यी गृहिणी महिलाहरूको तालिमपछि भने घरको कामबाट फुर्सद निकालेर जुत्ताचप्पल बनाउने, बेच्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्ने योजना छ ।
एकल परिवारको बढ्दो प्रचलनले नेपाली समाजमा ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरूको स्याहारसुसारको अभाव बढीरहेको छ । यही अभाव पूरा गर्न पछिल्लो समयमा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र दीर्घरोगीहरूका स्याहार केन्द्र खुलिरहेका छन् ।
यस्ता केन्द्रहरुमा काम गर्ने स्याहारकर्ताको अभाव छ । यही अभाव पूरा गर्न बुटवल उपमहानगरले गृहिणीहरूका लागि ४५ दिने 'केयर गिभर' अर्थात स्याहारकर्ता तालिम पनि संचालन गर्यो । केगर गिभरको तालिम लिइरहेका गृहिणी महिला अब घरको कामसँगै रोजगारीमा जोडिने तयारीमा छन् ।
बटवल उपमहानगरपालिकाले घरव्यवहारको काममा मात्र सिमित रहेका महिलाहरूलाई सीप सिकाएर फुर्सदको समयमा काम गरी आयआर्जन गर्नसक्ने बनाउन नगरप्रमुख गृहिणी स्वरोजगार कार्यक्रम ल्याएको हो ।
कार्यक्रममा २० वर्ष पूरा भइ ६० वर्ष ननाघेका महिलालालाई उनीहरूको इच्छा अनुसारका सीप र उद्यमी एवं स्वरोजगार बन्नका आवश्यक ज्ञान सिकाइन्छ । जसमा बुटवल भित्रका १९ वटै वडाका महिलाहरुले इच्छा अनुसार जुत्ताचप्पल बनाउने, स्याहार सीप सिक्ने, चुरा, पोते, टिका, बनाउने, गुन्द्रुक, मस्यौरा बनाउने जातजातिको भेषभूषा र पोसाक तयार गर्ने, बटुवा धुप ,बत्ति बनाउने, आईसक्रिम , परम्परागत खाजा, झोला, टोपी, चकटी, गमला बनाउनेलगायतका सीप नि:शुल्क सीकिरहेका छन् ।
सीप सिकेका गृहिणीहरूलाई रोजगारमा जोड्ने वा बीउ पुजी दिएर आफैले उद्यम गर्न लगाउने बुटवल उपमहानगरको योजना छ । योजनाअनुसार गृहिणी महिला रोजगारमा जोडिने वा स्वरोजगार बन्ने हो भने महिलाहरूको आर्थिक परनिर्भरता घट्ने छ ।