चालु वर्ष मन्थली नगरपालिकाको ८५.८८ प्रतिशत बजेट खर्च, आन्तरिक आम्दानी घट्यो

असार २७, २०८२ |नवराज श्रेष्ठ
चालु वर्ष मन्थली नगरपालिकाको ८५.८८ प्रतिशत बजेट खर्च, आन्तरिक आम्दानी घट्यो

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा कुल बजेटको ८५.८८ प्रतिशत खर्च गरेको छ। शुक्रबार आयोजित नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले चालुतर्फ ८९.४९ प्रतिशत र पुँजीगततर्फ ७७.०९ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो।

चालु आर्थिक वर्षमा नगरको कुल बजेट १ अर्ब १ करोड ९७ लाख ८१ हजार रूपैयाँ रहेको थियो। यो वर्ष नगरको आन्तरिक आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ। 

गत वर्ष नगरले ४ करोड ३० लाख रूपैयाँ आम्दानी लक्ष्य राख्दै १०७.७२ प्रतिशत अर्थात् ४ करोड ६३ लाख १९ हजार ६०० रूपैयाँ सङ्कलन गर्न सफल भएको थियो। तर यो वर्ष ३ करोड ८५ लाखको लक्ष्य राखिए पनि ९८.०७ प्रतिशत मात्र सङ्कलन भई जम्मा ३ करोड ७७ लाख ५७ हजार ४१७ रूपैयाँ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

यस वर्ष नगरपालिकामा वडा, नगर, प्रदेश तथा संघ स्रोतबाट ६२९ योजना कार्यान्वयनमा ल्याइएकोमा ५९६ योजना सम्झौता भई ५९२ योजना सम्पन्न भइसकेको छ। यो वर्ष नगर क्षेत्रभित्र डेरीमार्फत दूध बेच्ने २११ जना कृषकलाई २ रूपैयाँ ५० पैसा प्रतिलिटरका दरले कुल ६ लाख ४७ हजार ८०५ रूपैयाँ बैङ्कमार्फत भुक्तानी गरिएको छ।

यस्तै, ९७ जना दीर्घ रोगीलाई मासिक ५ हजार रूपैयाँ औषधि उपचार भत्ता उपलब्ध गराइएको र नगरका १४ वडाबाट एक/एक जना विद्यार्थीलाई विज्ञान सङ्कायमा अध्ययन गर्न छात्रवृत्ति दिइएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । 

कार्यक्रममा नागरिकहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी र कृषिलगायतका विषयमा प्रश्न गरेका थिए। प्रश्नको नगर प्रमुख लव श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले जवाफ दिनुभएको थियो । 

नगर उपप्रमुख ईश्वरी बस्नेतले सबैको सहकार्यमा विकासको गति बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै नगर प्रमुख श्रेष्ठले नागरिकबाट आएका सुझावलाई समेट्दै कमीकमजोरी सुधार गर्दै जाने बताउनुभयो।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।