वैदेशिक लगानीमा खुलेका कम्पनीले नेपालबाट आकर्षक लाभांश लैजाँदै

प्रचार नहुँदा लगानीको वातावरण छैन भन्ने भ्रम चिर्न सरकार असफल
प्रतिबद्धता बमोजिम लगानी भित्रिएन
श्रावण १६, २०८१ |सुदिल पोखरेल
वैदेशिक लगानीमा खुलेका कम्पनीले नेपालबाट आकर्षक लाभांश लैजाँदै

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक लगानी तर्फ ३ खर्ब ४१ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा झन्डै दोब्बर हो । तर, प्रतिबद्धतामा उत्साह देखिए पनि सो बमोजिमको लगानी भित्रन भने सकेको छैन । जबकि वैदेशिक लगानीका कम्पनीले लैजाने लाभांश भने आकर्षक छ ।

उद्योग विभागले अहिले ६ अर्बसम्मका वैदेशिक लगानीको स्वीकृति दिन्छ । विभागले गत आर्थिक वर्षमा ७० अर्ब लगानी स्वीकृत गरेको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि आर्थिक वर्ष २०७१/७२ मा ६७ अर्ब लगानी स्वीकृत भएको थियो । लगानी सम्मेलनका लागि कानुन संशोधन गरिँदा प्रक्रिया सहज भएपछि लगानी प्रतिबद्धतामा उत्साह आएको हो । 

यसै गरी ६ अर्बमाथिको लगानी स्वीकृति लगानी बोर्डले गर्छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब लगानी स्वीकृत गरेको बोर्डले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बोर्ड र विभाग गरी गत आर्थिक वर्षमा ३ खर्ब ४१ अर्ब बराबरको लगानी स्वीकृति भएको छ । लगानी सम्मेलनका क्रममा गरिएको नीतिगत तथा प्रक्रियागत सुधारले लगानीको प्रतिबद्धता भने बढेको हो । 

वैदेशिक लगानी प्रतिबद्धतामा देखिएको उत्साह बमोजिम लगानी भने भित्रिएको छैन । आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ७६ करोड लगानी भित्रिएकोमा गत आर्थिक वर्षको जेठसम्म ७ अर्ब मात्रै आएको छ । जबकि आर्थिक वर्ष २०७८/७९ मा १९ अर्ब ५१ करोड लगानी आएको थियो । यसरी लगानी रकम कम भित्रिए पनि उद्योग विभागका अनुसार वैदेशिक लगानीका कम्पनीले लैजाने लाभांशमा भने खासै कमी आएको छैन । 

आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ६८ करोड लैजान स्वीकृति पाएका कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब ७ करोड लैजाने स्वीकृति पाएका छन् । एनसेलले मात्रै वार्षिक ५ देखि ६ अर्ब लाभांश विदेश लैजाने गरेको छ । अहिले भने विवादका कारण विगत दुई वर्ष देखि उसले लाभांश लैजान पाएको छैन । 

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सूर्य नेपालमा लगानी भएको भारतको आईटीसी लिमिटेडले ६ अर्ब ३५ करोड लाभांश लगेको छ । त्यस्तै युनिलिभरमा लगानी गरेको हिन्दुस्तान युनिलिभरले १ अर्ब १० करोड लगेको छ । एकातिर विदेशी लगानी भएका कम्पनीले आकर्षक आम्दानी गरेर लाभांश लगिरहेका छन् अर्कोतर्फ नेपालमा लगानीको वातावरण छैन भनेर नकारात्मक सन्देश पनि फैलिरहेको छ । 

यहीकारण प्रतिबद्धता बढेपनि वास्तविक लगानी भने भित्रन सकेको छैन । सरकारले लगानीको वातावरण छैन भन्ने भ्रम चिर्न राम्रो मुनाफा गरेर विदेशी कम्पनीहरूले लाभांश लगिरहेका छन् भन्ने प्रचारप्रसार गर्न सके प्रतिबद्धता अनुसारको लगानी पनि बढ्नेछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।