काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा असन्तुष्टि जनाउनेहरुप्रति लक्षित गर्दै सबैलाई खुसी पार्ने काम आफ्नो नरहेको बताउनुभएको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिले आफ्ना माग सम्बोधन नगरेको भन्दै गुनासो गर्नेहरुलाई जवाफ दिँदै गभर्नर अधिकारीले अर्थतन्त्रका लागि जे व्यवस्था गर्नुपर्ने हो, राष्ट्र बैंकले ल्याउने नीतिले त्यही व्यवस्थामात्र गर्ने बताउनुभएको हो ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै अधिकारीले बैंकले यो वर्ष महँगीदर मापनका लागि लिने आधारहरु परिवर्तन हुने जानकारी पनि दिनुभयो । राष्ट्र बैंकले सार्वजनिक गर्ने मुद्रास्फीति दर र वास्तविक मुद्रास्फीति किन फरक हुन्छ भन्ने प्रश्नमा गभर्नर अधिकारीले यस्तो जवाफ दिनुभएको हो ।
के मौद्रिक नीति तयार गर्दा सरकारले कुनै दबाब दिएको थियो ? मौद्रिक नीति किन राजनीतिक दस्ताबेजजस्तो बन्दै गइरहेको छ ? यी र यस्तै प्रश्नसहित अधिकारीसँग गरिएको अन्तर्वार्तामा उहाँले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र अन्य डिजिटल प्लाटफर्महरुमा पनि कार्यक्रम हेर्न सकिनेछ ।