लाइन काटिएका ६ उद्योगमा बिजुली जोडिने

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
लाइन काटिएका ६ उद्योगमा बिजुली जोडिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले यसअघि काटिएका ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ उद्योगको विद्युत् मंगलबार साँझबाट जडान गर्ने प्राधिकरणले निर्णय गरेको हो ।

‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने,’ प्राधिकरणको निर्णयमा भनिएको छ, ‘लाइन काटिएका ६ वटा उद्योगको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।’

प्राधिकरणले रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन गत २५ असारदेखि काटेको थियो ।

प्राधिकरणले गत असार ११ मा ६१ उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न भन्दै पत्र पठाएको थियो । उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ हो । तर विद्युत्‌को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.