इन्जिनियरलाई कति तलब चाहिन्छ, कति तलबले पुग्छ ?

श्रावण ६, २०८१ |भरत रावल
इन्जिनियरलाई कति तलब चाहिन्छ, कति तलबले पुग्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको यो साता एउटा अभिव्यक्ति चर्चामा रह्यो । इन्जिनियरहरुको एक कार्यक्रममा प्रधानमन्त्री ओली प्रश्न गर्दै हुनुहुन्थ्यो- इन्जिनियरको तलब पनि ३७ हजार हुन्छ ? इन्जिनियरले पाउनुपर्ने तलब कम भएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीको भनाइ सुनेर इन्जिनियरहरुले ताली पनि बजाए । तर के सरकार साँच्चै निरन्तर बढिरहेको महँगी र सरकारी एवं निजी क्षेत्रमा काम गर्ने कर्मचारीको बढ्नै नसकेको आम्दानीबारे गम्भीर छ त ? नेपालमा रोजगारीमा आकर्षण नहुँदा निजी क्षेत्रका कर्मचारी मात्रै होइन सरकारी कर्मचारी पनि जागिर छाडेर विदेशिइरहेका छन् । भएकै कर्मचारीबाट पनि उत्पादकत्व बढाउन सकिएको छैन ।

भिजिट भिसा र विद्यार्थी भिसामा गएर भए पनि विदेशमा काम गर्न जान चाहनेको संख्याले नै के बताउँछ भने हामीकहाँ रोजगारी छैन र भएको रोजगारीमा पनि आकर्षण छैन । नेपालको रोजगारीमा तलब सेवा-सुविधालगायत अन्य कुनै पनि आकर्षण छैन । प्रधानमन्त्री ओलीकै भनाइलाई आधार मान्ने हो भने इन्जिनियर पढेर काम थालेको व्यक्तिले तलब बढाएर ३७ हजार पुर्याइदिनु पर्यो भन्नु नै लाजमर्दो कुरा हो ।

नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणी अर्थात् अधिकृत सरहको कर्मचारीको तलब जम्मा ४३ हजार ६ सय ८९ रुपैयाँ मात्रै छ । निजी क्षेत्रमा काम गर्ने कर्मचारीको अवस्था झन् नाजुक छ । उनीहरुको न्यूनतम तलब १७ हजार तीन सय रुपैयाँ मात्रै छ । अहिले देशलाई अत्यावश्यक, शिक्षक, डाक्टर, नर्स, इन्जिनियर, आईटी, कानुन विज्ञ तथा व्यस्थापन र लेखाजस्ता क्षेत्रमा काम गर्ने सरकारी कर्मचारीकै तलबमान कम छ भने निजी क्षेत्रले त श्रम शोषण नै गरेको समेत आरोप लाग्ने गरेको छ ।

देशलाई अत्यावश्यक जनशक्तिको रोजाइ स्वदेशभन्दा पनि विदेश हुने गरेको छ । योग्यताका आधारमा तलब सुविधा नहुँदा पलायन हुनेको संख्या बढ्दो छ । सरकारको तलबले दैनिक गुजारा पनि चल्ने अवस्था नरहेपछि युवालाई स्वदेशमा रोक्न मात्रै होइन रोकिएका युवाबाट काम लिन पनि उत्तिकै सकस रहेको प्राध्यापक शिवराज अधिकारी बताउनुहुन्छ ।

एकातिर न्यून तलब छ भने त्यही तलब पनि समयमा पाउने स्थिति छैन । जसले नागरिकको क्रयशक्ति निरन्तर घट्दै जाँदाको त्यसको असर उत्पादनसम्मै परेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।