भिजिट भिसामा विदेश जाने, काम खोजेर उतै हराउने

आन्तरिक रोजगारी नहुँदा १ वर्षमा १२ लाख नेपाली विदेसिए
धेरै युवाको गन्तव्य दुबई
सरकारसँगै छैन भिजिट र विद्यार्थी भिसामा विदेश गएर रोजगारी गर्नेको तथ्यांक
श्रावण ४, २०८१ |सुमन पन्थ
भिजिट भिसामा विदेश जाने, काम खोजेर उतै हराउने

काठमाडौं । स्वदेशमा रोजगारीका अवसर नै सिर्जना कम भएपछि पछिल्लो एक वर्षमा १२ लाखभन्दा धेरै नेपाली विदेश गएका छन् । वैदेशिक रोजगारी, शिक्षा र भिजिट भिसाका नाममा यति धेरै नेपाली विदेश गएका हुन् ।

वैदेशिक रोजगारीका नाममा बाहिरिनेको संख्या अघिल्लो वर्षको तुलनामा केही कम भए पनि विद्यार्थी र भिजिट भिसाका नाममा बाहिरिनेको संख्या बढ्दै छ । आन्तरिक श्रम बजार संकुचन हुँदा विभिन्न नाममा युवा पलायन बढिरहेको तथ्यांकले देखाएको छ ।

श्रम स्वीकृति लिएर विदेश जानेको संख्या घटिरहेका बेला भिजिट भिसा र विद्यार्थी भिसामा गएर उतै काम गरेर कति जना बस्छन् भन्ने तथ्यांक भने सरकारले दिन सकेको छैन ।

पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर सात लाख ४१ हजारभन्दा धेरै युवा बाहिरिएका छन् । यसैगरी एकपटक नेपाल आएर पुनः जानेको संख्या जोड्दा आठ लाख ४६ हजारभन्दा धेरै छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो गत वर्षको भन्दा ३.८८ प्रतिशतले कम हो ।

वैदेशिक रोजगारीमा युरोपेली मुलुक जानेको संख्या पछिल्लो समय बढे पनि बाहुल्यता भने खाडी मुलुक जानेकै छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो एक वर्षमा सबैभन्दा धेरै युवा रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गएका छन् ।

संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर दुबई जानेको संख्या एक लाख ३१ हजार छ । यसमा महिला श्रमिकको संख्या मात्रै १७ हजारभन्दा बढी छ । त्यस्तै मलेसियामा ८१ हजार, साउदी अरबमा ७३ हजार, कतारमा ४० हजार र कुवेतमा २८ हजार नेपाली गएका छन् । यसैगरी युरोपेली मुलुक क्रोएसिया र रोमानियामा १२ देखि १४ हजारको हाराहारीमा युवा गएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नेपालीहरु परम्परागत मुलुममै जाने गरेका छन् ।’

तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखाए पनि भिजिट भिसाका नाम गएर काम गरेर काम गरेर बस्नेको संख्या भने बढेको छ । तर भिजिट भिसामा जाने र विदेशमै बस्ने कति नेपाली छन् भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा दुई लाख ३८ हजारभन्दा धेरै नागरिक भिजिट भिसामा बाहिरिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३८ हजारले बढी हो । भण्डारी भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा स‌ंस्थागतभन्दा बिचौलियाबाट धेरै गएका छन् ।’

वैदेशिक रोजगारीमा नक्कली कागजात र गैरकानुनी तरिकाबाट जानेको संख्या बढेपछि सरकारले कडिकडाउ गर्दा बिचौलियाले भिजिट भिसाको बाटो अपनाएका हुन् । यसैगरी खाडीका मुलुकमा लागेका अघोषित प्रतिबन्ध तथा युरोपेली मुलुकहरुसँग श्रम-सम्झौता गर्न नसक्दा पनि भिजिट भिसामा जानेको संख्या बढेको हो ।

आन्तरिक रोजगारीमा आएको संकुचनका कारण वैदेशिक रोजगारीमाथिको परनिर्भरता बढ्दा नेपालीहरु विदेश जाने गरेका हुन् ।

भिजिट भिसा मात्र होइन विद्यार्थी भिसामा दुरुपयोग भएर वैदेशिक रोजगारीमा गएको तथ्यांक पनि उत्तिकै छ । पछिल्लो एक वर्षमा अध्ययन भिसामा मात्र एक लाख १७ हजारभन्दा धेरै विद्यार्थी बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ । तर यीमध्ये कति पढिरहेका छन् र कति काम गरेर बसिरहेका छन् यसको तथ्यांक छैन । यस्तो भिसामा जानेको संख्या पनि हरेक वर्ष बढिरहेको छ ।

कानुनी र गैरकानुनी दुवै तरिकाले हुने आप्रवासनको तस्बिर यस्तो भयावह भए पनि सरकारले यसलाई व्यवस्थित गर्ने तथा आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ ठोस गृहकार्य गर्न सकेको छैन । ‘नेपाल सरकारको पहिलो लक्ष्य नै रोजगारी सिर्जना र आन्तरिक रोजगारी व्यवस्थित गर्ने हो,’ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीको भनाइ छ ।

सरकारको आवधिक योजना तथा वार्षिक बजेटमा समेत रोजगारी सिर्जनाका गुलिया नारा समावेश गरिए पनि व्यवहारमा लागु हुन सकेको छैन । रोजगारी सिर्जना गर्ने औद्योगिक, निर्माण र कृषि क्षेत्रको योगदान घट्दो छ । औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा पनि कम रहेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारको नीति कारण रोजगारीका अवसर सिर्जना गर्ने सकिएको छैन ।’

यता सरकारले सेना र प्रहरी बाहेकका दरबन्दी घटाइरहेको छ । चालु खर्च बढेको भन्दै नयाँ दरबन्दी सिर्जना नगर्ने र भएका दरबन्दीसमेत कटौती हुँदा उच्च शिक्षा हासिल गरेका युवाको गन्तव्य पनि विदेशी मुलुक नै भइरहेको छ ।

हेर्नुहोस् सुमन पन्थका थप स्टोरी ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement