शिथिल अर्थतन्त्रको असर राजस्व संकलनमा

असार १५, २०८१ |सुदिल पोखरेल
शिथिल अर्थतन्त्रको असर राजस्व संकलनमा

काठमाडौं । मुलुकभित्रको आर्थिक शिथिलताको असर सरकारको राजस्वमा समेत देखिएको छ । सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । गत वर्षको तुलनामा केही राजस्व बढेका आधारमा सरकारले अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरेपनि बिज्ञहरु भने सरकारी तथ्यांकमै टेकेर अर्थतन्त्र शिथिल अवस्थामा रहेको बताउँछन् ।

सरकारले अर्थतन्त्रमा बिस्तारै सुधार आउन थालेको दाबी गरेको छ । तर उसलै सार्वजनिक गरेको राजस्वको तथ्यांकले भने खास सुधार नभएको पुष्टि गर्छ । माग बढ्न नसक्दा आयातमा कमी आएकाले लक्ष्यअनुसार भन्सारबाट राजस्व उठ्न सकेको छैन । भन्सार विभागले जेठसम्म ५ खर्ब ७३ अर्ब अर्ब उठाउने लक्ष्य लिएकोमा अहिलेसम्म ३ खर्ब ८४ अर्ब मात्रै संकलन गरेको छ । जुन लक्ष्यको ६२ प्रतिशत मात्रै हो । कुल राजस्वको करिब ४४ प्रतिशत हिस्सा ओगटेको भन्सारको राजस्वमा कमी आउनुमा सवारी साधन, पेट्रोलियम पदार्थसँगै समग्र आयातमा कमी आउनु मूख्य कारण हो । तर पनि अर्थमन्त्रालय भने अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहेको छ ।

१४ खर्ब २२ अर्ब उठाउने लक्ष्य लिएको सरकारले आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा जम्मा ९ खर्ब ६२ अर्ब अर्थात ६७ प्रतिशत मात्रै संकलन गर्न सकेको छ । आन्तरिक राजस्व विभागले असारसम्म ६ खर्ब ७७ अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा अहिलेसम्म ४ खर्ब ५५ अर्ब मात्रै उठेको छ । 

यो पनि लक्ष्यको ६७ प्रतिशत मात्रै हो । आयकर १३ प्रतिशतको हाराहारीमा बढेको देखिए पनि आन्तरिक उत्पादनमा लाग्ने अन्त:शुल्क गत वर्षभन्दा १ दशमलव पाँच प्रतिशतले घटेको छ । राजस्व संकलन गत वर्षको यही समयको तुलनामा ८ प्रतिशत मात्रै बढेको हो । महंगी र आर्थिक बृद्धिलाई आधारमान्दा राजस्व संकलनले अर्थतन्त्रमा सुधार आएको भन्न नमिल्ने विज्ञहरुको तर्क छ ।

अर्थतन्त्र चलायमान बनाउन अब आगामी आर्थिक वर्षमा बजेटमार्फत सार्वजनिक गरेका कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने चुनौती सरकार सामु छ । त्यस्तैराष्ट्र बैंकको मौद्रिक नीति पनि निजी क्षेत्रको मनोबल उकास्नेमा केन्द्रित हुन आवश्यक छ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।