युरोकप : प्रिक्वार्टरफाइनलमा फ्रान्सले बेल्जियमको सामना गर्ने

अर्को खेलमा पोर्चुगलले स्लोभेनियाको सामना गर्ने
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोकप : प्रिक्वार्टरफाइनलमा फ्रान्सले बेल्जियमको सामना गर्ने

काठमाडौं । युरोकपको प्रिक्वार्टरफाइनलमा आज राति फ्रान्सले बेल्जियमको सामना गर्नेछ । लामो समय विश्व फुटबलको शीर्ष वरीयतामा रहेको बेल्जियमले सन् २०१८ को विश्व विजेताको सामना गर्न लागेको हो ।

युरोको अन्तिम १६ का खेलमध्ये यो सबैभन्दा हेबीवेटबीचको भिडन्त हो । तर दुवै टिमको प्रदर्शन उत्कृष्ट छैन । समूह चरणमा फ्रान्सले एक गोल मात्र गर्न सक्यो । केलियन एम्बाप्पेले पेनाल्टीको अवसरमा गोल गरेर फ्रान्सको हार टारेका थिए ।

अस्ट्रियासँगको खेलमा विपक्षी टोलीका खेलाडीले आत्मघाती गोल गरेपछि त्यही गोलका कारण हात परेको जितपछि फ्रान्स अहिले नकआउट खेलिरहेको छ । इतिहासमा फ्रान्स र बेल्जियमबीच ७६ खेल भएका छन् । युरो कप र विश्वकपजस्ता मुख्य प्रतियोगितामा यी दुई टिमबीच भएका चार खेल नै फ्रान्सले जितेको छ । लगातार तेस्रोपटक युरोकपको नकआउटमा पुगेको बेल्जियम अघिल्ला दुवैपटक क्वार्टरफाइनल पुगेको टोली हो ।

यसकारण आजको खेलमा जुन टोलीले हारे पनि एउटा बलियो टिम बाहिरिने पक्का छ । आजै राति पौने १ बजे हुने खेलमा पोर्चुगलले स्लोभेनियासँग खेल्नेछ । पोर्चुगल समूह एफको विजेता हो भने स्लोभेनिया समूह ‘ई’बाट तेस्रो भएर अन्तिम १६ मा पुगेको हो ।

आज राति स्लोभेनियाले इतिहासमै पहिलोपटक युरोकपको नकआउट खेल्दा पोर्चुगलले नकआउटको २६औं खेल खेल्नेछ । सन् २०१६ को युरोकप जितेयता पोर्चुगलले नकआउट चरणका चार खेलमध्ये तीन खेलमा पराजय बेहोरेको छ । उसले समूह चरणको अन्तिम खेलमा पनि जर्जियासँग २-० को हार बेहोरेको थियो ।

अहिलेसम्म स्पेन, जर्मनी, इंग्ल्यान्ड र स्विट्जरल्यान्डले युरो कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । युरो कपको अन्तिम १६ मा अब चार खेल बाँकी छन् । ती खेलबाट क्वार्टरफाइनल पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.