बर्सेनि तामझामका साथ धान दिवस मनाए पनि सालिन्दा १२ लाख टन धान अपुग

११ महिनामै २१ अर्बको चामल आयात
किसानलाई सधैँ मल-बीउकै चिन्ता
असार १५, २०८१ |सुमन पन्थ
बर्सेनि तामझामका साथ धान दिवस मनाए पनि सालिन्दा १२ लाख टन धान अपुग

काठमाडौं । प्रचारात्मक कार्यक्रम गरी धान दिवस मनाइरहँदा हामीले धानको अपेक्षित उत्पादन बढाउन सकिरहेका छैनौँ । जलवायु परिवर्तनको असर, किसानसम्म उन्नत जात र प्रविधि पहुँच विस्तार नहुँदा उत्पादनको बढाउन झन्-झन् चुनौती थपिँदै गएको छ ।

समुद्री सतहबाट तराईमा ६० मिटरदेखि ३०५० मिटर अग्लो स्थान जुम्लाको छुमचौरसम्म नेपालमा धानको खेती गरिन्छ । संसारकै सबैभन्दा उचाइमा धान फलाउने देश भनेर नेपाल चिनिने गरेको छ । धान उत्पादनका लागि विशिष्ट किसिमको भौगोलिक विविधता भए पनि दक्षिण एसियाली मुलुकमै हाम्रो धानको उत्पादकत्व भने कम छ । चीनमा प्रतिहेक्टर ७ टन धान फल्ने गरे पनि हाम्रोमा चार टन पनि फल्न सकेको छैन । किसान समक्ष उन्नत बीउदेखि आधारभूत कृषि सामग्री पुर्‍याउन नसक्दा हाम्रो उत्पादकत्व बढ्न नसकेको हो । प्रतिहेक्टर ५ टन फलाउन सके मात्र पनि आयात कम गर्न सकिने कृषि अर्थशास्त्रीहरूको भनाइ छ । 

नेपालका धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब १० प्रतिशतमा रैथाने तथा स्थानीय जातका धानले ओगटेको छ । २५०० भन्दा बढी धानका रैथाने जात रहेकोका १५० भन्दा बढी जातको खेती हुँदै आएको छ । उन्नत बीउ र मल मात्रै होइन, नार्कले विकास गरेका बीउ अझै आधा किसानसम्म पनि पुग्न सकेको छैन ।

२०३० सालको दशकमा नेपालले वार्षिक २ करोडभन्दा धेरैको धान निर्यात गर्ने गरेकोमा अहिले त्यो इतिहास मात्र बनेको छ । नेपाल धान-चामल आयात गर्ने देशको सूचीमा छ । कृषि विभागका अनुसार पछिल्लो ११ महिनामा २१ अर्ब १३ करोडको धान चामल आयात भएको छ । त्यसमध्ये ८८ करोडको धानको बीउ मात्र आयात भएको छ । 

नेपाल सरकारले आयात निरुत्साहित गर्न कृषि सुधार शुल्क जस्ता औजार लगाइरहेको छ । तर पनि आयात थामिएको छैन । गत वर्ष ३३ अर्बको आयात भएको थियो । धान चामलको बढ्दो आयात रोक्नका लागि उत्पादकत्व बढी भएको चैते धानको खेती प्रवर्द्धनदेखि धान पकेट क्षेत्र कार्यक्रम सञ्चाल गरिरहेको जनाएको छ । सरकारी अधिकारीहरूले आउँदा दिनमा नतिजा दिने दाबी गरेका छन् । 

नेपालमा खेती हुने कुल क्षेत्रफलको ४७ दशमलव ७ प्रतिशत जमिनमा धान खेती गरिन्छ । वार्षिक औसत ५५ लाख टन धान उत्पादन हुन्छ । तर करिब १२ लाख टन धान अपुग हुने गरेको छन् । कृषिमा जलवायु परिवर्तनको प्रभाव र कृषि क्षेत्रमा युवा टिकाउन नसक्दा धानमाथिको हाम्रो परनिर्भरता कहिलेसम्म लम्बिने हो यकिन छैन ।

यो पनि हेर्नुहोस् :-


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।