प्रधानमन्त्री दाहाललाई बाबुरामको ज्ञापनपत्र, बूढीगण्डकी आयोजनाको काम अघि बढाउन माग

भदौभित्र माग पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन
असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाललाई बाबुरामको ज्ञापनपत्र, बूढीगण्डकी आयोजनाको काम अघि बढाउन माग

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले पूर्वसहयात्री प्रधानमन्त्री दाहाललाई माग पूरा गर्न भदौसम्मको अल्टिमेटम दिनुभएको हो । तोकिएको समयमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी भट्टराईले दिनुभएको छ ।

प्रधानमन्त्री दाहाललाई बुझाइएको तीनबुँदे ज्ञापनपत्रमा विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीका रूपमा रहेको संरचना खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ गठन गर्न माग गरिएको छ ।

प्राधिकरणमार्फत नै बूढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित जनताका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

तत्कालीन नेकपा माओवादीका नेताका रुपमा भट्टराई प्रधानमन्त्री हुँदा बूढीगण्डकीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको थियो । १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनालाई अलपत्र पार्न खोजिएको भट्टराईको आरोप छ । उहाँले आफूहरुको माग भदौभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.