आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक बहुमतले पारित

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नु भएको 'विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्' भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 

सरकारले गत जेठ १५ गते संघीय संसदबाट संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरुले दिएपछि आज विधेयक पारित भएको हो ।

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले आयकर ऐनको दफा ५७ मा हेरफेर गरिएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै शेयर किनबेच गर्दा आयकर तथा पुँजीगत कर नलाग्ने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । उनीहरुले लहडका भरमा विधेयक तयार गर्ने गरिएको उल्लेख गर्दै विधेयकमा आर्थिक स्थायित्वलाई खण्डित गर्ने काम भएको बताए ।

बैठकले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेका खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आजको बैठकमा ३१ सांसदहरुले खर्च कटौतीको प्रस्ताव राखेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement