चीनसँग सीमा जोडिएका उत्तरका १४ नाका आजदेखि खुले

थप सात नाका खोल्न चीन सहमत
जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनसँग सीमा जोडिएका उत्तरका १४ नाका आजदेखि खुले

संखुवासभा । चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथांकासहित १४ वटा नाका आजदेखि खुलेका छन् । कोरोनाको कारण देखाउँदै २०७६ माघ ५ गतेदेखि बन्द नाका आज एकैसाथ खुलेका हुन् ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ किमाथांका नाका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्र पुगेर त्यहाँका उपाध्यक्ष सिलाङ निमासँगै आज १४ वटै व्यापार नाका पुनः सञ्चालन भएको घोषणा गर्नुभयो ।

किमाथांकाबाट फर्किने क्रममा तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग उहाँले दुई देशका उच्च राजनीतिक नेतृत्वबीचको संवाद र सहमतिबाट चार वर्षपछि नाका पुनः सञ्चालनमा ल्याएको बताउनुभयो ।

आजदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांका नाका खुलेको जानकारी दिँदै उहाँले चिनियाँ पक्ष थप सातवटा नाका खुलाउँदै लैजान सहमत भएको जानकारी पनि दिनुभयो ।

नाका खुलेपछि भोटखोलाका बासिन्दाले अब दु:खका दिन सकिएको प्रतिक्रिया दिएका छन् । किमाथांका सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर उत्तरमा पर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.