तरकारीमा आत्मनिर्भर बन्दै जुम्लाको घोडासिन, बारीमै पुग्न थाले व्यापारी

जेष्ठ १२, २०८१ |डीबी बुढा
तरकारीमा आत्मनिर्भर बन्दै जुम्लाको घोडासिन, बारीमै पुग्न थाले व्यापारी

जुम्ला । जुम्ला पातारासी ६ को घोडासिन गाउँ तरकारी खेतीमा आत्मनिर्भर मात्रै बनेको छैन, तरकारी बेचेर बर्सेनि मनग्ये रकम गाउँमा भित्र्याएको छ । सदरमुकाम खलंगादेखि झन्डै एक घण्टाको पैदल दूरीमा पर्ने घोडासिन गाउँमा तरकारी खरिदका लागि व्यापारीहरु खेतबारीमै पुग्ने गरेका छन् ।

जुम्ला पातारासी ६ स्थित घोडासिन गाउँका बारीमा लटरम्म तरकारी फलेका छन् । किसानहरुले बारीमा साग, गाजर, मुला, काँक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमीलगायत तरकारी फलाइरहेका छन् ।

कतिपय किसान आफैंले सदरमुकामसम्म तरकारी पुर्याउँछन् भने कतिपय व्यापारी तरकारी खरिद गर्न बारीसम्मै पनि पुग्ने गरेको किसान माया थापा बताउनुहुन्छ ।

हिउँदमा हरियो साग र वर्षायाममा मौसमी तरकारी बजारमा पुर्याउने गाउँका रुपमा घोडासिन परिचित छ ।

घोडासिनका किसानले तरकारी बेचेरै बर्सेनि न्यूनतम ५० हजारदेखि तीन लाख रुपैयाँसम्म कमाउँदै आएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी कालीकोट, सुर्खेत र नेपालगन्जसम्म पुग्ने गरेको छ ।

‘अहिले आलु, मकैभन्दा पनि तरकारी खेतीतर्फ लागेका छौं,’ घोडासिनका गोरबहादुर रोकाया बताउनुहुन्छ ।

गाउँका १४० घरधुरी तरकारी खेतीमा लागेका छन् । २०६८ सालमा सुरु भएको व्यावसायिक तरकारी फैलिँदै गएको छ ।

पहिले बाँझो रहने जमिनमा अहिले तरकारी फल्न थालेका छन् । तर सिँचाइ समस्याले भने सताएको किसानको गुनासो छ । ‘हामीलाई सिँचाइको एकदमै आवश्यकता छ । सिँचाइ सुविधा भए उत्पादन पनि बढाउन सकिन्थ्यो,’ अर्का किसान जनक बुढा बताउनुहुन्छ ।

व्यावसायिक तरकारी खेती सुरु भएपछि घोडासिन गाउँका युवालाई रोजगारीका लागि कालापहाड जानुपरेको छैन । उनीहरु यार्सा संकलनका लागि लागि डोल्पा र मुगुका पाटनमा पनि जान छाडेका छन् ।

तरकारी खेतीप्रतिको किसानको आकर्षण देखेर पातारासी गाउँपालिकाले तरकारी पकेट क्षेत्रका रुपमा छनोट गरेको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।