लगानी सम्मेलन : ठुलो रोजगारी सिर्जना गर्ने आयोजना नै छैनन् लगानीयोग्य सूचीमा

वैशाख १३, २०८१ |अर्थ ब्युरो
लगानी सम्मेलन : ठुलो रोजगारी सिर्जना गर्ने आयोजना नै छैनन् लगानीयोग्य सूचीमा

काठमाडौं । देशमा रोजगारीका अवसर नपाएपछि दैनिक २ हजार युवा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन् । सरकारका हरेक वर्षका नीति तथा कार्यक्रम र बजेटमा भने रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको हुन्छ । तर कार्यान्वयन हुन सकेको छैन । यसलाई कार्यान्वयन गर्न लगानी सम्मेलन एउटा राम्रो अवसर हुन सक्थ्यो । तर सम्मेलनमा सो-केस गर्ने तयारी गरिएका १ सय ४८ आयोजनाले पनि ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने देखिँदैन ।

देशमा चरम बेरोजगारी छ । तर सरकारले गर्न लागेको लगानी सम्मेलनमा प्रत्यक्ष रोजगारी बढाउने कुनै पनि आयोजना सो-केस गरिएका छैनन् । देशमा वार्षिक ५ लाख युवा श्रम बजारमा आउने गरे पनि ५० हजार हाराहारी मात्रै रोजगारी सिर्जना हुन्छ । बाँकी कि विदेशिन्छन् कि बेरोगार हुन्छन् । दैनिक २ हजारभन्दा बढी त वैदेशिक रोजगारीमा जान बाध्य छन् । युवाले चरम वेरोजगारी समस्या सामना गरिरहेका बेला तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा १ सय ४८ आयोजना सो-केस गरिँदै छ । सरकारले छानेका यी आयोजनाबाट प्रत्यक्षरुपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न नसक्ने दाबी विज्ञको छ । 

लगानी बोर्डले भने प्रस्ताव गरिएका आयोजनाको काम अघि बढे तत्काल ठूलो संख्यामा रोजगारी सिर्जना हुने दाबी गरेको छ । तर अघिल्ला सम्मेलनको नजिर हेर्ने हो भने शो-केश गरिने निर्माण, जलविद्युत्, प्रसारणलाइन, सडक, यातायात, रेल्वेजस्ता क्षेत्रका योजना सुरु हुनै समय लाग्छ । यसकारण यिनले तत्काल रोजगारी सृजना गर्दैनन् ।

नेपालमा कृषि र कृषिप्रशोधन, पर्यटन तथा सूचना प्रविधि रोजगारी सिर्जना हुने सम्भावित क्षेत्र हुन् । तर यी क्षेत्रमा ठूला लगानी छैनन् र शोकेस पनि गरिएको छैन । केही दशकअघि गार्मेन्ट र गलैंचाले रोजगारी सिर्जना गरेपनि अहिले यो क्षेत्र ओरालो गतिमा छ । छिटो नाफा कमाउन निजी क्षेत्र उद्योगमाभन्दा ब्यापारमा लाग्दा रोजगारी सिर्जना हुन नसकेको हो ।

त्यसो त सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई पनि उत्पादनमूलक क्षेत्रमा लगाउन सकेको छैन । देशमै लगानी सम्मेलन भइरहँदा सबैभन्दा ठुलो समस्या बेरोजगारीलाई सम्बोधन गर्ने परियोजना नहुनुले हाम्रो नीतिगत प्राथमिकता के हो भनेर प्रश्न खडा गरिदिएको छ ।



Enter Kantipur TV HD
Advertisement