उद्योगी-व्यवसायी भन्छन्- नीति र सरकार स्थिर भए वीरगन्जको वैभव सम्भव

चैत्र २४, २०८० |अर्थ ब्युरो
उद्योगी-व्यवसायी भन्छन्- नीति र सरकार स्थिर भए वीरगन्जको वैभव सम्भव

वीरगन्ज । वीरगन्जका उद्योगी-व्यवसायीले स्थिर नीति र स्थिर सरकार भए वीरगन्जको वैभव सम्भव रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले गरेको ‘वीरगन्ज वाणी’ बहसमा उद्योगी, व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाले उद्योगमैत्री नीति लिन पनि सरकारसँग माग गरेका छन् ।

‘उद्योग र व्यापार, खोइ पूर्वाधार ?’ विषयक पहिलो सत्रमा बोल्दै व्यवसायीहरुले दोहोरो कर, कमजोर पूर्वाधार र कच्चा पदार्थको आयातमा भइरहेको भन्सार अवरोधले समस्या सिर्जना गरेको बताए । विनातालिका कटौती हुने विद्युत्‌ले उद्योग २० प्रतिशत क्षमतामा चल्नुपरेको उनीहरुको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले देखिएको विद्युत्‌को समस्या एक महिनाभित्र समाधान गरिने बताए । बढ्दो विद्युत्‌को माग पूर्ति गर्न प्राधिकरणले २० अर्बको परियोजना सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका समस्या समाधान गर्न सरकारले कानुन संशोधन गर्ने बताए । त्यसका लागि निजी क्षेत्रसँग छलफल गरिरहेको उनको भनाइ छ ।

सांसद प्रदीप यादवले वीरगन्जलाई आर्थिक प्याकेज दिन केन्द्रसमक्ष माग गरे । राजस्व प्रशासनमा राम्रो योगदान गरे पनि उपेक्षा भइरहेको गुनासो पनि उनले गरे ।

कार्यक्रमको दोस्रो सत्र ‘वीरगन्जको विरासत’ का वक्ताहरुले सरकारले आफ्ना नीति समयसापेक्ष बनाउन सके वीरगन्जको वैभव सम्भव रहेको बताए । वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले काठमाडौं र भरतपुर महानगरलाई जस्तै वीरगन्जलाई पनि पर्याप्त स्रोत-साधन दिन माग गरे ।

वीरगन्जका उद्योगी व्यवसायी तथा सरोकारवालाहरुले वीरगन्ज कृषि, पर्यटन तथा मेडिकलको हब बनाउन सकिने भन्दै सोहीअनुसारको नीति ल्याउन सुझाए ।

कार्यक्रमको तेस्रो सत्र ‘अर्थतन्त्र उकास्न स्थिर नीति’ मा बोल्दै व्यवसायीहरुले सरकारको एक निकायले भन्सार पास गराएको वस्तुलाई फेरि राजस्व अनुसन्धानका नाममा व्यवसायीलाई दुःख दिने, सामानको यथार्थ मूल्यांकन नगर्ने र दोहोरो-तेहोरो कर लगाउनेजस्ता नीतिमा सुधार गर्न सुझाए ।

राजस्व-सचिव रामप्रसाद घिमिरेले भन्सारमा देखिएका समस्या समाधानका लागि राजस्व अनुसन्धानसागको समन्वयमा काम गर्ने उल्लेख गर्दै निजी क्षेत्रको मनोबल घट्न नदिने प्रतिबद्धता जनाए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुाजी कर्जा व्यवस्थाले व्यवसायलाई कर्जा लिन बाधा नपुगेको बताए ।

त्यस्तै उद्यमी सरिता यादवले कृषि, घरेलु तथा साना उद्योगमा कर्जा पाउन समस्या भएको बताइन् । सहभागीहरुले समयसापेक्ष नीति नहुँदा लाभ लिन नसकेको र व्यवसायबाटै पलायन हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

यो पनि...

अर्थमन्त्री भन्छन्- व्यवसायी त्रसित हुनुपर्दैन

मधेश प्रदेशलाई संघीय सरकारले उपेक्षा गर्‍यो : मुख्यमन्त्री यादव

उद्योगी व्यवसायी भन्छन्- सरकारले उद्योगमैत्री नीति लेओस्