वीरगन्ज । वीरगन्जका उद्योग व्यवसायीहरुले उद्योगमैत्री नीति लिन सरकारसँग माग गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले शनिबार गरेको ‘उद्योग र व्यापार, खोइ पूर्वाधार ?’ विषयक पहिलो सत्रमा उद्योगी व्यवसायीहरुले दोहोरो कर, कमजोर पूर्वाधार र आयातित कच्चा पदार्थको भन्सार अवरोधले समस्या सिर्जना गरेको बताएका छन् । घण्टौं हुने लोडसेडिङका कारण उद्योग २० प्रतिशित क्षमतामा मात्र चलेको उद्योगी अनिल रूंगटाको गुनासो छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिले देखिएको विद्युत् समस्या एक महिनाभित्र समाधान गरिने दाबी गरे । बढ्दो विद्युत् माग पूर्ति गर्न प्राधिकरणले २० अर्बको परियोजना सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए ।
उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका समस्या समाधान गर्न कानुन परिमार्जनको तयारी भइरहेको जानकारी दिए । कार्यक्रमका वक्ताहरुले वीरगन्जले देशको कुल राजस्वको ४२ प्रतिशत योगदान दिए पनि पूर्वाधार निर्माणमा उपेक्षा गरेको भन्दै त्यसमा सुधार गर्न आग्रह गरेका थिए ।